दार्चुला । जिल्लामा खोप अभियान संचालन गरी बालबालिकालाई टाइफाइड बिरुद्धको खोप दिइने भएको छ । खोपबाट बचाउन सकिने रोग अपाङ्गता र मृत्युदरलाई कम गर्ने लक्ष्यका साथ चैत २५ गते देखी ३० गते सम्म अभियान संचालन गरी जिल्ला भरीका ३६ हजार ९ सय ४० बालबालिकालाई टाइफाइड बिरुद्धको खोप दिइने जनाइएको छ । १५ महिना देखी ५ वर्ष मुनिका सबै बालबलिकालाई टाइफाइड बिरुद्धको खोप दिइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबिच जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका भरी रहेका लक्षित संख्याका ८ हजार २ सय ४२ जना बालबालिकालाई चैत २५ गते देखी ३० गते सम्म टाइफाइड बिरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिनुभयो । महाकाली नगरपालिका क्षेत्र भित्रमा रहेका ८ हजार २ सय ४२ जना मध्ये ७ हजार १ सय ७३ जना बालबालिका विद्यालयमा रहेका छन्, भने १ हजार ६९ जना बालबालिका विद्यालय बाहिर रहेको उहाले बताउनुभयो । नगरपालिकामा आज बसेको खोप समन्वय समितिको बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
खोप दिइने लक्षित समुहका सबै जना बालबालिकालाई नगरपालिका भरीका स्वास्थ्यकर्मी परिचालन गरी खोप दिइने उहाको भनाई छ । खोप अभियान संचालनका लागी नगरपालिका भरीका १ सय ९४ जना स्वास्थ्यकर्मी परिचालन गरिने उहाले बताउनुभयो । नगरपालिका भित्र ६९ खोप केन्द्रहरु रहेका छन् । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने उहाको भनाइ छ । यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ । दार्चुलामा ५ दिनको अभियान संचालन गरेर खोप दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । ४ सय २१ ओटा खोप केन्द्र कायम गरिएकोमा ८० प्रतिशत केन्द्र विद्यालयमा रहेका छन् ।
