पोखरा । नेपाली कांग्रेस कास्कीका नेताहरुलाई पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् । देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज काठमाडौं जाँदैछन् । ‘तुरून्त काठमाडौं आउनू’ भनेकाले आफूहरु तीन जना काठमाडौं लागेको कास्की सभापति बरालले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिकासहितका स्थानीय तहहरुमा सत्ता गठबन्धनको साझा उम्मेदवार चयन गर्ने विषयमा विवाद छ । भागबण्डा मिलाउन बैठक बसिरहेको बेला कांग्रेसका जिल्ला सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले नेकपा एकीकृत समाजवादीसँग सहमतिको सम्भावना सकिएको आसयसहित संयुक्त विज्ञप्ति जारी गरेपछि गठबन्धनमा खैलाबैला मच्चिएको थियो । लगत्तै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अर्को विज्ञप्ति जारी गर्दै सचिवद्वयले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको बताएका थिए ।
कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका छन् । पाँचवटै पालिकाको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरमा नेकपा एकीकृत समाजवादी, मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र अन्नपूर्ण गाउँपालिकामा जनता समाजवादी पार्टीले दाबी गरेका छन् । जसपाले आफूहरुको उपस्थितिलाई सम्मानजनक रुपमा नलिइएको भन्दै गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ । सहमतिको प्रयासमा आज पुनः पोखरामा गठबन्धनको बैठक बस्ने तयारी छ ।

कांग्रेसले कास्की नछोड्ने रामचन्द्र पौडेलको भनाइ

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै पनि हालतमा कांग्रेसले कास्की नछोड्ने आडभरोसा पोखरालाई दिएका छन् । पौडेलले कास्कीका नेताहरूलाई फोन गरेर सोमबार नै अडान नछाड्न भनेका थिए । उनले केन्द्रमा पनि पोखराको विषयले अड्किएको जानकारी गराएका थिए ।

वरिष्ठ नेता पौडेलले पोखरा कांग्रेसले अरू पार्टीलाई छोड्न नमिल्ने अनलाइनखबरसँग बताए । ‘पोखरा अरू पार्टीलाई छोड्ने कुरा हुन्न, गठबन्धन पनि टुटाउने कुरा हुन्न । पोखरा कांग्रेसले पाएन भने एमालेले जित्छ । गठबन्धन बैठकमा पोखरा कांग्रेसलाई नै दिन मेरो पनि अडान छ,’ पौडेलले अनलाइनखबरसँग भने । पोखराको टुंगो नलागी अन्य महानगर र उपमहानगरमा उम्मेदवार टुंगो नलाग्ने पौडेलले बताए । अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय