दार्चुला भाद्र ०७ । सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीले वडा भित्र रहेका बेसाहारा आमाबुवालाई कोसेलीको रुपमा खाद्यान्न र गौरा खर्च उपलब्ध गराउनु भएको छ । अघिपछि कोही नभएका बेसाहारा आमाबुवालाई अध्यक्ष जोशीले वडा कार्यालयको बजेटबाट खाद्यान्न र नगद गौरा खर्च उपलब्ध गराउनु भएको हो । वडा भित्र रहेका ७ जना बेसाहारा आमा बुवालाई एक कार्यक्रमको आयोजना गरी खाद्यान्न र गौरा खर्च उपलब्ध गराएको वडा अध्यक्ष पुष्करराज जोशीले बताउनुभयो । बेसाहारा आमाबुवालाई वडा कार्यालयबाट २५ किलोग्राम मसिनो चामल, ५ किलोग्राम पिठो, ३ किलोग्राम दाल, २ लिटर खानेतेल, २ किलोग्राम चिनि, २ गोटा नुहाउने र २ गोटा लुगा धुने सावुन वितरण गरिएको उहाले जानकारी दिनुभयो । यस्तै नजिकै आइरहेको सुदुरपश्चिमेलीहरुको महान पर्व गौराका लागी रु ५÷५ सय नगद गौरा खर्च समेत उपलब्ध गराएको उहाको भनाई छ ।
वडा भित्र रहेका बेसाहारा लक्ष्मी देवी मिस्त्री निरौला, धर्मा दमाई, जसुली देवी कामी, गजिना लोहार, बेलमती सुनार, प्रेम सिंह लुहार र भागरथी देवी पार्कीलाई खाद्यान्न र गौरा खर्च उपलब्ध गराएको वडा अध्यक्ष जोशीले जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख सुना बोहरा, वडा नम्बर ३ का अध्यक्ष एवं नगर प्रवक्ता पदम महर, वडा नम्बर ५ का अध्यक्ष तोरन प्रसाद अवस्थी, वडा नम्बर ८ का अध्यक्ष चन्द्र सिंह बिष्ट समेत सहभागी हुनुहुन्थ्यो । वडा अध्यक्ष जोशीले विभिन्न समयमा समस्यामा परेका वडाका नागरिकलाई खाद्यान्न र नगद राहात उपलब्ध गराउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय