काठमाण्डौँ । नेपाल आयल निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
