महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेको एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ ।
आज आइतवार बेलुका ५० हजार रुपैयाँ घुससहित अख्तियारले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा रहेको एक होटलमा आज बेलुका ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको प्रकिया अगाडि बढाइएको अख्तियारले जनाएको छ । उज्यालोबाट
