काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसले कस्तो प्रभाव पार्ला भन्ने लेखाजोखा हुन थालेको छ । काठमाडौँ महानगर प्रमुखमा बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरपालिका प्रमुखमा हर्कराज सम्पाङ, धनगढी उपमहानगरपालिका प्रमुखमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका हुन् ।
बालेन्द्र शाह र हर्कराज सम्पाङको जित प्रमुख राजनीतिक दलहरुका लागि ठुलो सबक भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । काठमाडौँ महानगरपालिकामा एकातिर सत्तारुढ गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिएको थियो भने अर्कोतिर पाँच वर्ष महानगरको नेतृत्व गरेको एमाले थियो । यी दुवैलाई निकै मतान्तरले पछि पार्दै बालेन्द्र शाहले जित हासिल गर्नु सामान्य होइन ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको यो सफलताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि कयौं त्यस्ता हस्तीका लागि हौसला मिलेको छ, जो स्वतन्त्र उम्मेदवारीको योजनामा छन् । सोही क्रममा विवेकशील नेपाली पार्टीका संस्थापक समेत रहेका पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर १ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जितेको क्षेत्र हो । यही क्षेत्रबाट पुकार बमले ६ महिना अगाडि नै उम्मेदवारी घोषणा गरेर दलहरुका लागि एक प्रकारको चुनौती दिएका छन् ।
काठमाडौँमा मात्र होइन, तराई मधेसमा पनि स्वतन्त्र उम्मेदवारी दिन युवाहरू अगाडि सरेका छन् । हाल विभिन्न दलमा रहेका युवा सम्बन्धित दलले टिकट नदिए स्वतन्त्रबाट भए पनि चुनाव लड्ने योजनामा छन् । सामाजिक अभियन्ता सरोज राय तिनै युवामध्ये एक हुन् । उनले सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । रातोपाटीबाट
