दार्चुला भाद्र १२ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्वको रुपमा रहेको गौरा पर्वको आज दोस्रो दिन विरुडा धुने काम भैरहेको छ । चार दिनसम्म मनाइने गौरा पर्वमा हिजो विरुडा भिजाएको थियो भने आज नजिकको पानी पधेरो गई धुने परम्पार रहेको छ । विवाहित व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई आज नजिकका धारा, तलाउमा लगेर धुई पश्चात धान, तिल, सवाँको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मूहान, धाराहरुमा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दुहुँ गाँउपालिका वडा नं. २ का स्थानिय महिला दमा देवी जोशीले वताउनु भयो । बिरुडापञ्चमीको दिन भिजाएका विरुडा आज धुने गौराको प्रतिमुर्तिको पूजाआजा गर्ने चलन रहिआएको छ ।
बिरुडाका साथै बारीमा फलेका विभिन्न प्रकारका फलफूलहरु समेत गौरादेवीमा चढाउने प्रचलन रहेको जोशीको भनाई छ । दिउँसो गौरादेवीको पूजाआजा गर्छाै, वेलुका परेपछि मिठोमसिनो पाकाएर खान्छाँै, जोशीले भन्नु भयो । भोली गौराघरमा गौरादेवीको प्रतिमुर्ति लिने र पर्सी अठवाली वनाएर समाप्त हुने उनको भनाई छ । रातिको समयमा व्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गरी गौरा घरमा जगाराम वस्ने गर्दछन् । पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गर्दा प्राप्त भएको विश्वास छ ।
त्यति बेलादेखि गौरा र शिवको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा रहेको छ । दुर्गाष्टमी अर्थात् अठ्वाली यो पर्वको मुख्य दिनको रुपमा लिने गरेको छ । भोलि सप्तमीका दिनमा गौराघरमा गौरालाई भित्र्याउने चलन रहेको छ । भोलि नै महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो दुगधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्र्गाष्टमी अर्थात् अठ्यावालीका दिन फल चाखेर धारण गर्ने गर्दछन् । व्रर्त गरेको पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुगधागो धारणा गर्ने गर्दछन् । गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिन्छ । कोरोना भाइरसका कारण सामूहिक रुपमा जमघट गर्ने नहुने भएकाले यस वर्ष पनि गौराको रौनक खासै नहुने स्थानी वताउँदै आएका छन् । स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मेला पर्व तथा भीडभाड गर्न रोक लगाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs