काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा एसपीपीबारे छलफल भयो । छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा पनि बोलाइएका थिए । एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा पठाएको पत्रको चर्चा उक्त पत्र सार्वजनिक भएसँगै सुरु भएको थियो ।
पत्रमा लेखिएको हस्तलिखित मितिबारे प्रश्न उठेका थिए । सार्वजनिक चर्चामा रहेको पत्रको हस्तलिखित मितिलाई पूर्वउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समितिमा पनि उठाए । पत्रमा अन्य विवरण कम्प्युटर टाइप भएको र मिति भने हस्तलिखित भएको भन्दै उनले आशंका जनाए । उनले हातले मिति किन लेखिएको हो, स्पष्ट पार्नुहोला भन्दै प्रधानसेनापतिलाई प्रश्न गरे ।
पूर्वरक्षामन्त्रीले नै प्रश्न उठाएपछि प्रधानसेनापति शर्माले जवाफ दिए । टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन, उनले भने, मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले चिठी लेख्ने चलन छ हजुर ।
प्रधानसेनापति शर्माले उक्त पत्र सेनाले आधिकारिक रुपमा पठाएको र त्यसको सक्कल प्रति साथै बोकेर आएको जानकारी गराएका थिए । बैठकको सुरुमा नै प्रधानसेनापतिले सक्कल प्रतिसमेत बोकेर आएको भनेपछि पनि पोखरेलले भने पत्रको आधिकारिकताबारे प्रश्न गरेका थिए । कान्तिपुर
