दार्चुला, भदौ १५ गते । लगातारको वर्षाका कारण आइतबार राती विभिन्न खोलामा आएको बाढी र पहिरोले जिल्लाको दुहुँ गाउँपालिकामा तिन अर्बको क्षति भएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।
बाढी र पहिरोले सरकारी संरचनाका साथै व्यक्तीगत तथा सार्वजनिक स्थानमा पुर्याएको क्षतिको विवरण संकलन गर्दै जादा तिन अर्बको क्षति भएको उनको भनाई छ । आइतबार राती भएको अविरल वर्षाले आएको बाढी र पहिरोले गाउँपालिकाका सबै जसो स्थानमा क्षति पुर्याएको उनले वताए । बाढी र पहिरोले अहिले सम्मकै सबैभन्दा ठुलो क्षति गरेको भन्दै अध्यक्ष कार्कीले दुहुँ गाउँपालि विकासमा २० वर्ष पछि परेको बताए । बाढी र पहिरोले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पाँच वटा लघुजल विद्युत, सात वटा पुल र एक विद्यालय भवन पुर्णरुपमा क्षति भएको उनको भनाई छ ।
बाढीले दुहुँ गाउँपालिका–३ मा रहेको ४३ किलोवाट क्षमताको कालागाड पहिलो लघुजलविद्युत, वडा नम्बर ५ मा रहेको ४० किलोवाट क्षमताको दोस्रो कालागाड लघुजलविद्युत, वडा नम्बर १ मा रहेको १४ किलोवाट क्षमताको भाष्कर लघुजलविद्युत, वडा नम्बर २ मा रहेको ३३ किलोवाट क्षमताको नरुली कलागाड लघुजलविद्युत र वडा नम्बर ५ मा रहेको ९ किलोवाट क्षमताको सिमार लघुजलविद्युतमा पुर्णरुपमा क्षति पुर्याएको अध्यक्ष कार्की जानकारी दिए ।
यस्तै बाढी र पहिरोले दार्चुला–तिंकर सडक खण्ड अन्तरगत श्रीबगरको मोटर पुल, महाकाली नगरपालिका–१ मलेरा र दुहुँ गाउँपालिका–३ ब्रहमदेव जोड्ने झोलुंगे पुल, कालागाड झोलुंगे पुल, भाडी मखमली जोड्ने फलामे पुल, नरुली बथ्थोली जोड्ने झोलुंगे पुल, वडा नम्बर ५ को सिमार झोलुंगे पुल, वडा नम्बर २ को गुना अफरे आरसिसि पुल
तथा सुत्खोला झोलुंगे पुल पुर्णरुपमा क्षति भएको बताइएको छ । पहिरो गाउँपालिकाको सिमार, सुत्खोला, दुल्ला, थलगाड, नरुली, बास्पाली, बिण बस्ती उच्च जोखिममा रहेका छन् । सोही बाढी र पहिरोमा परी दुहुँ गाउँपालिका–१ बास्पाली भालुखोलाका ६५ वर्षिय नरसिंह महर र उनकी ६० वर्षिय श्रीमती कौशा महर र वडा नम्बर ५ दुल्लाका ७० वर्षिय मनुवा डडालको मृत्यु भएको थियो ।