दार्चुला भदौ १६। दार्चुला जिल्लाको ब्याँस गाउँपालिकामा खाद्यान ढुवानीको लागी अर्थ मन्त्रालयले डेढ करोड बढी बजेट विनियोजन गरेको छ । बर्षातको समयमा आएको बाढी तथा पहिरोले दार्चुला सदरमुकाम देखी ब्यास गाउँपालिका जोड्ने दार्चुला तिङकर सडक र गोरेटो बाटो अबरुद्ध भएपछि व्याँसमा खाद्यान समस्या हुने देखिएपछि हेलिकप्टर मार्फत खाद्यान ढुवानीको लागी १ करोड ५३ लाख रुपैया बजेट विनियोजन गरेको हो। गोरेटो बाटो अबरुद्ध भएपछि गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ मा खाद्यान्न ढुवानी गर्न निक्कै समस्या भएको छ । खाद्यान्नको अभाव हुन थालेपछि गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले भदौ २ गते गृहमन्त्री बालकृष्ण खाणलाई प्रत्येक्ष भेटेरै हेलिकप्टर मार्फत खाद्यान्न ढुवानीको व्यवस्था मिलाई दिन अनुरोध गरेको गाउँपालिका अध्यक्ष बुढाथोकीका स्वकीय सचिव दिपक सिंह खातीले जानकारी दिनुभयो। अध्यक्ष बुढाथोकीको अनुरोध पछि गृहमन्त्री खाणले तत्काल हेलिकप्टर मार्फत खाद्यान्न ढुवानीको प्रबन्ध गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र ढुवानीको लागि आवश्यक बजेट बिनियोजन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिनु भएको थियो । ब्यास गाउँपालिकाको वडा नम्बर १,२,३, र ४ को लागी हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्न भदौ १५ गते अर्थ मन्त्रालयले १ करोड ५३ लाख बजेट बिनियोजन गरेको र छिट्टै टेन्डर आह्वान गरेर हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरिने गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।