
दार्चुला भदौ १६ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा का स्थानीय जनप्रतिनिधिलाई दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएको छ । भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दुबै दलमा जान चाहने स्थानीय जनप्रतिनिधीहरुलाई दल रोज्ने समय २२ गतेसम्म दिइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै २२ गतेसम्म दल रोज्न भनेको छ । अब एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गते ५ बजेभित्र सनाखत गर्नुपर्छ । यस्तै जसपाबाट स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ । सनाखत गर्न आउदा आफू निर्वाचित भएको संकल प्रमाणपत्र र नेपाली नागरीकताको प्रमाणपत्र सहित स्वयं जिल्ला निर्वाचन कार्यालय दार्चुलामा उपस्थित हुन आग्रह गरेको छ ।