दार्चुला भदौ १७ । दार्चुलाको व्याँस गाउँपालिकाको तिंकर भञ्ज्याङ्गसम्म चिनले सडक सञ्जाल जोडेको छ । व्याँस गाउँपालिका को वडा नं. १ तिंकरको एक नम्बर पिलर नजिकै चीनले सडक संञ्जाल जोडेको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङकाउन्टी ताक्लाकोट हुदै नेपाल जोड्नेगरी चीनले सडक विस्तार गरेको छ । ब्याँसको छाङ्गरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको एलआरपी गस्ती पिलर नम्बर १ मा पुग्दा सो सडक निर्माण गरेको देखेका हुन् । सशस्त्र प्रहरीका सई राजेन्द्र विष्ट नेतृत्वको टोली भदौ पहिलो साता एक नम्बर पिलर पुगेको थियो । भदौ पहिलो साता व्याँसको छाङ्गरुमा रहेको सशस्त्र प्रहरी नेपाल चीन सीमा स्तम्भ रहेको पिलर नम्बर १ मा पुगेको थियो । चीनले पिलरसम्म सडक पुरयाउँदा नेपाली व्यापारीलाई फाइदा पुग्छ । चीनसँगको नाका बन्द हुनुअघिसम्म व्याँस छांगरु तिंकरका स्थानीयले चीनको समान ल्याएर व्यापार गर्ने गरेका छन् । उनीहरु गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे । उसो त छाङ्गरु तिंकरमा अहिले पनि चिनिया समान सहजै उपलब्ध हुने गरेको छ । नेपाल भारतको भन्दा सस्तो मूल्यमा छांगरु तिंकरमा चिनिया समान पुग्ने गर्छ । दुई वर्ष अघिसम्म यहाँका व्यापारीले चिनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवि, मुन्स्यारी लगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोबार हुने गरेको थियो । उता भारतले नेपाली भूमि भएर निर्माण गरेको सडक नाबी ढाङ्ग हुँदै लिपु पुर्याउने तयारी गरेको छ । कालापानी हुँदै निर्माण गरेको सडक चीनसँग जोड्ने भन्दै सडक बनाइरहेको छ । नेपालले भने चीनसँगको सीमा जोड्ने गरी निर्माण गर्ने भनिएको महाकाली लोकमार्ग अन्तर्गत दार्चुला तिंकर सडकले गति लिएको छैन् । आर्थिक वर्ष ०६५।०६६ बाट निर्माण सुरु गरेको सडक व्याँसको सुनसेरासम्म मात्रै ट्याक खुलाइएको छ । अहिलेसम्म ४३ किलोमिटर ट्याक खुलेको छ । सरकारले गत वर्ष चीनसँग सीमा जोड्न बाकी ८७ किलोमिटर सडक खण्ड नेपाली सेनालाई जिम्मेवारी दिएको छ । व्यास गाउँपालिका २ को कोठेधार देखि तिंकरसम्मको काम सेनालाई दिए पनि अहिलेसम्म सेनाले काम सुरु गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय