काठमाडौँ । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ। तर, विमानस्थलका कर्मचारीले बाटो छेक्दा उनी अपमानजनक रुपमा फर्किन बाध्य भएका छन् । महिनौँको विशाल प्रदर्शनपछि बुधबार राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई भाग्न खोजेका थिए।

तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न दिएनन्। भीडले हुलदंगा गर्ने डरले उनी साधारण लाइनमा गएर उभिन पनि सकेनन्। त्यसैले उनका चार वटा उडान छुटे। त्यसपछि उनी पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किए।

एएफपीसँग कुरा गरेका अधिकारीहरुले राजापाक्षे नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने तयारीमा रहेको बताएका छन्। राष्ट्रपति पदमा कायम रहँदासम्म राजापाक्षेलाई गिरफ्तारीबाट उन्मुक्ति प्राप्त छ। त्यसैले पदत्याग गर्नुअघि नै उनी विदेश जान चाहेको बताइएको छ। उनीमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप छ। जसले मुलुकलाई टाट पल्टाएको छ।
एउटै परिवारको लालचले डुबाएको देश
उनीमाथि युद्धअपराधको आरोप पनि छ। तमिल अल्पसंख्यकविरुद्धको गृहयुद्धमा रक्षा सचिव रहेका उनमाथि बेपत्ता बनाएको र गैरकानुनी हत्या गरेको आरोप पनि छ।

उनी मात्र होइन, उनका भाइ पूर्वअर्थमन्त्री बेसिल राजापाक्षेले पनि मंगलबार बिहान दुबई हुँदै अमेरिका भाग्ने कोसिस गरेका थिए। तर, कर्मचारीले उनलाई रोकेपछि अमेरिकी नागरिक समेत रहेका बेसिल फर्केका थिए।

राजापाक्षे परिवारका सदस्यले देश छाडेर भाग्ने प्रयास गरेको खुलासापछि बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन मंगलबार सर्वोच्च अदालतमा निवेदन परेको छ। द गार्डियन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय