दार्चुला । राष्ट्रको सातौँ धामका रुपमा रहेको शैल्यशिखर पुजन जात्रा विधिवत् रुपमा सम्पन्न भएको छ। मंगलबार मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ र शैल्यशिखर नगरपालिका वडा नम्वर ६ को सिमा क्षेत्रमा रहेको शैल्यशिखर पुजन जात्रा विधिवत् रुपमा सम्पन्न भएको हो ।
हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा लाग्ने गर्दछ । मालिकार्जुन गाउँपालिका वडा नं ३ स्थित भण्डारी घरबाट विहानै शिखरको यात्रा आरम्भ हुने गर्दछ । शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन सोमबार साझ नै मालिकार्जुन पुगेका थिए ।
शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन साँझ नै मालिकार्जुन मन्दिर पुग्ने गरेका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेको मालिकार्जुन मन्दिर विकास समितिले जनाएको छ । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्यप्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुख समेत हुने जनविश्वास रहिआएको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुष १५ दिन अगाडिदेखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्ने गर्छन् । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेकाले विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । विगत केहि वर्ष देखि कोरोना भाइरसका कारणले जात्रा खासै हुन न सके पनि यस बर्ष शिखर दर्शन गर्नेको भिडभने थेगि नसक्नु थियो । शिखर दर्शन गर्न जानेले १५ दिनअघिदेखि नै मासु, प्याज, लसुनजस्ता चिज खानु हुँदैन । बिहानै शिखर धाम जाँदा विभिन्न बाजागाजा बजाउने, फाग झोडा, लोक भजन गाउँदै मडको भराणी घरबाट भक्तजन जाने गर्छन् । मन्दिरको दर्शन गरेपछि उनीहरु पुनः मालिकार्जुन मड , लटिनाथ चौड , कैलपाल , बालिचन लगायतका अन्य सबै देवस्थलहरुको पुजन र दर्शन गरी जात्रा समापन हुने गरेको छ ।
