दार्चुला : जिल्लाका ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाइने भएको छ । दिनानुदिन फेरी कोरोना संक्रमण बढीरहेको अवस्थामा स्वास्थ्य कार्यालय दार्चुलाले उनिहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउने तयारी गरिरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिनुभयो । तयारी स्वरुप आज देखी भदौ १ गते सम्म जिल्ला भरीका स्वास्थ्यकर्मीहरुलाई फाइजर खोप अभियानका बारेमा अभिमुखीकरण गराइरहेको उहाले बताउनुभयो । स्वास्थ्यकर्मीहरुलाई ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकालाई दिइने कोरोना विरुद्धको फाइजर खोपका बारेमा जानकारी दिने तथा अभिमुखीकरण गराउने कार्य भइरहेको बताइएको छ । ‘भदौको ५ गते देखी ११ गते सम्म बालबालिकाहरुलाई कोरोना विरुद्धको उक्त खोप लगाउने गरि तयारी गरिरहेका छौ, उहाले भन्नुभयो ।’

जिल्ला भरी रहेका ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाहरुको तथ्याङ्कका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयमा खोपको माग गरिएको खोप सुपरभाइजर भट्टले बताउनुभयो । दार्चुलामा ५ वर्ष देखी ११ वर्ष सम्मका बालबालिकाको संख्या १८ हजार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबिच जिल्लामा कोरोना संक्रमण बढ्दै गइरहेको पाइएको छ । खास गरि भारतबाट नेपाल आउने नेपाली कामदारहरुमा कोरोना संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतमा मजदुरी गरि घर फर्किरहेका उनिहरुमा चेकजाँच गर्दा कोरोना संक्रमण भेट्टीरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले ११ वटा कोरोनाका एक्टिभ केस रहेको उहाले बताउनुभयो । पुलघाटमा एन्टिजेन परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भए पनि दार्चुलाका ११ जना मात्रै रहेको र बाकी ३ जना बझाङ जिल्लाका रहेको बताइएको छ । दार्चुलाका ११ जना मध्ये २ जना शैल्यशिखर नगरपालिका र बाकी ९ जना महाकाली नगरपालिकाका रहेको उहाले जानकारी दिनुभयो । संक्रमित उनिहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन् । संक्रमितलाई कुनै गम्भिर खालको स्वास्थ्य समस्या नरहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय