दार्चुला । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रहरी चौकी धापको साँझेदारी तथा महाकाली नगरपालिका–७ का स्थानिय युवाहरुको संयुक्त सहयोगमा बृक्षारोपण गरिएको छ ।
शुक्रबार (आज) दार्चुलाको महाकाली नगरपालिका–७ धाप (रैत्यौडा) मा अवस्थित श्री लटिनाथ मन्दिर क्षेत्रमा अमला, अम्बा, अनार, पेल्परो लगायत अन्य गरी ७० देखि ८० सम्म बोटहरु रोपण गरी बृक्षारोपण कार्यक्रम गरिएको स्थानिय युवा बिशाल सिंह रैखोलाले सिद्धटोपी खबर लाई जानकारी दिए ।
समस्यामा परेकाहरुलाई विभिन्न महत्वपूर्ण घटनाहरुमा समेत आफुहरुले सक्दो सहयोग गर्ने र पहल चाल्ने “सुखि जनता समृद्ध महाकाली” निर्माण गर्नमा समेत सहयोग गर्ने महाकाली–७ का स्थानिय युवा रैखोलाले बताए । कार्यक्रममा नगरपालिका–७ का वडा अध्यक्ष तथा स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा खास गरी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (शुक्रबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक पर्व मनाउँदै छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
