काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू २० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ । नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले दुई खेल हारेपछि नेपालको छनोट हुने सम्भावना कम रहेको र अब शतप्रतिशत खेल खेल्ने बताएका छन् ।
‘छनोट हुने सम्भावना न्युन छ । समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ । किनभने हामीले दुई खेल हारिसकेका छौं,’ केसीले भनेका छन् ‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारिरक रुपमा पूर्ण तयार थिएनौं । दोस्रो खेल कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ ।’
पहिलो खेलमा भुटानसँग २(० ले पराजित भएको नेपाल दोस्रो खेलमा कतारसँग ३(१ ले हारेको थियो । प्रशिक्षक केसीले बहराइनको मौसम र समयमा घुलमिल भएकोले अब राम्रो प्रदर्शनमा ध्यान दिने कताए । ‘करिब सात दिन भयो बहराइन आएको, हामी, हाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छन् । त्यसैले राम्रो प्रदर्शन गर्ने हाम्रो लक्ष्य हो,’ केसीले भने, ‘एएफसी यु २० एसियन कपमा छनोट हुनेभन्दा पनि हामी राम्रो प्रदर्शन गर्ने हाम्रो प्रमुख लक्ष्य हो । पाँच टोली रहेको समूह बी मा नेपाल अंकविहीन हुँदै पूछारमा छ । अंकविहीन हुने नेपाल एक्लो टोली हो ।
यसअघि बंगलादेशसँग बराबरी खेलेको बहराइनको १ अंक मात्र छ । बहराइन पनि नेपाल विरुद्ध खेल्दा पहिलो जितको खोजीमा हुनेछ । एक जित र एक बराबरीबाट ४ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । समान ३ अंक रहेको कतार र भुटान क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आइतबार खेल्नेछ । अनलाईन खबर
