दार्चुला, भदौ २४ । आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज दार्चुलामा पनि धुमधाम सँग मनाईँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । हरितालिका तीज विशेषगरी नेपालका हिन्दू महिलाहरुले व्रत बसेर मनाउने महत्वपूर्ण चाड हो। रातो पहिरन र रातै चुरापोतेमा अधिकांश महिलाहरु सजिनु तीजको विशेषता हो। तीजको व्रतको अर्को विशेषता भनेको गीत र नाचगान हो। तीजको व्रतका बेला नाचेमा पुण्य मिल्ने परम्परागत विश्वास छ।
व्रतालु महिलाहरु मन्दिर परिसर, शिवालयमा वा आफूहरुलाई पायक पर्ने स्थानमा भेला भएर लोक दोहोरीमा नाचेर रमाइलो गर्नु पनि यो पर्वको अर्को महत्वपूर्ण आकर्षण हो। मध्य तथा सुदूरपश्चिममा तीजमा देउडा खेलिन्छ। यो चाडमा माइतीले छोरीचेली लाई घरमा बोलाएर मीठा(मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी खाने(बस्ने चलन छ ।
यस दिन विभिन्न पेशा व्यवसायमा वा जागीरमा सक्रिय महिलाहरुलाई सार्वजनिक विदा दिने चलन रहेपनि सुरक्षा क्षेत्रमा काम गर्ने कतिपय महिलाहरु भने ड्युटीमै खटिएका हुन्छन्। तीजको अर्को महत्वपूर्ण पक्ष भनेको श्रृङ्गार, र आकर्षक आभूषण पहिरन पनि हो। तर यस पर्वको साँस्कृतिक तथा धार्मिक महत्व उजागर गर्नुभन्दा पनि श्रृङ्गार र आभूषण प्रदर्शन गर्ने पर्वको रुपमा विकसित भैरहेकोप्रति कतिपयले चिन्ता व्यक्त गर्ने गरेको पाईन्छ। पहिले देवालय, सार्वजनिक खुला मैदानमा गीत संगीतद्वारा आफ्ना व्यथा र भावना साटासाट गर्ने तीज पर्व आजकाल पार्टी प्यालेस, शपिङ्ग कम्प्लेक्समा केन्द्रीत हुने क्रम बढ्दो छ। धार्मिक मान्यता अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। यसै मान्यता अनुसार हिन्दू महिलाहरुले आआफ्ना श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन्।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs