प्रेमराज जोशी दार्चुला भदौ २५ । दार्चुलाका अधिकांश स्थानिय तहका विद्यालयहरुमा पढाई सुचारु हुने भएपनि जिल्लाको दुहुँ गाउँपालिकाका ४ विद्यालयमा तत्काल पढाई सञ्चालनमा समस्या भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयपछि स्थानीय तहहरू पठनपाठन सुचारु गर्ने तयारीमा जुटेका वेला दुहुँ गाउँपलिकामा यहि भाद्र १३ गते राति वाढि पहिरोमा परेका वाढि पिडितहरु विद्यालयमा आश्रय लिएर वसेका कारण पढाई सञ्चालनमा समस्या रहेको दुहुँ गाउँपालिकाका विद्यालय निरिक्षक हेमराज जोशीले जानकारी दिए ।
गाउँपालिकामा रहेका अन्य विद्यालयहरु २० गते आईतवारवाट सञ्चालनमा रहेको भएपनि गौरीलमाण्डौ माध्यामिक विद्यालय हिकिला, आधारभुत विद्यालय गुना, सुत्खोला र गरमोरामा वाढि पहिरो पिडित वसेको जोशीले वताए । स्वास्थ्य मापदण्डको पालना गरेर स्थानिय तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । सदरमुकाम खलंगाको महाकाली नगरपालिकाले भदौ २७ गतेदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर भौतिक रूपमा पठनपाठन सुचारु गर्ने जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर अभिभावकको सहमतिअनुसार पठनपाठन सुचारु गर्ने निर्णय भएको महेन्द्र नमुना माध्यामिक विद्यालय खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए ।
विद्यालयले नर्सरी देखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि र कक्षा ६ देखि १० सम्मको पढाई बिहान ७ बजे देखि साढे १० बजेसम्म हुने जोशीको भनाई छ । नगरपालिकामा संचालित संस्थागत तथा सरकारी विद्यालयहरु केही सुचारु भइसकेका छन् ।
यसैसाता जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शिक्षा मन्त्रालयले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठन पाठन सुचारु गर्न सकिने निर्णय गरेको थियो । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा मात्रै पठनपाठन सुचारु गर्न सकिने निर्णयमा उल्लेख छ । उक्त निर्णयपछि स्थानीय तहहरू विद्यालय सञ्चालन गर्ने तयारीमा जुटेका हुन ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs