दार्चुला । देशकै सातौ धाम श्रीशैल्य मालिकार्जुन मन्दिरमा लागेको विशाल जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको चर्तुदशी तिथिका दिन लाग्ने रात्रिकालिन विशाल जात्रा आज विहान विधिवत रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
कार्तिक २० गते त्रयोदशीको दिन शिखर पुजन जात्रा लागेको थियो भने कार्तिक २१ गते राती विशाल जात्रा एवं मेला लागेको मालिकार्जुन पर्यटन विकास समितिका सचिव जनकसिह धामीले जानकारी दिए। त्रयोदशीका दिन लागेको पुजन जात्रामा सहभागी भएका श्रद्धालु भक्तजनहरु कार्तिक २० गते देखि नै मालिकार्जुन मन्दिरमा आराधाना गरि बसेको मालिकार्जुन पर्यटन विकास समितिका सचिव धामीले बताए ।
जात्रामा दार्चुला जिल्ला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र भारतको उत्तराखंड, उत्तरप्रदेश देखि हरियाणा सम्मका श्रद्धालु भक्जनहरु जात्रा हेर्न आएको धामीले बताए ।
जात्रामा करिव ३०÷४० हजार दर्शालु भक्तजनहरुले अवलोकन गरेको उनले बताए । जात्रामा विभिन्न बस्तीहरुबाट दमाहा बाजा ल्याएर क्रमबद्ध रुपमा बजाउने चलन रहिआएको छ । जात्रा आज विहान ६ वजेतिर समापन गरिएको छ । मालिकार्जुन मन्दिरमा लाग्ने जात्रा यसवर्षको अन्तीम विशाल जात्रा हो । तर आज पुर्णिमा तिथिका दिन लेकम गाउँपालिका वडानम्बर ४ को पातीमा लाग्ने जात्रा नै यो वर्षको अन्तिम जात्रा हुनेछ । त्यस्तै सोमबार नै लेकम गाउँपालिका वडानम्बर ६ को उचाकोटको मालिकार्जुन मन्दिरमा समेत रात्रिकालिन जात्रा लागेको थियो ।
शान्ति सुरक्षाका लागि मालिकार्जुन जात्रामा १ सय ५५ जना सुरक्षाकर्मी खटिए
देशकै सातौ धाम मालिकार्जुन मन्दिरमा लागेको विशाल जात्रामा शान्ती सुरक्षा गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो । जिल्लाको सवैभन्दा विशाल जात्रामा शान्ति सुरक्षा तथा अमनचयन गर्न जिल्ला प्रहरी कार्यालयबाट इन्सेपेक्टरको नेतृत्वमा १ सय २० जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए । जिल्लाबाट प्रहरी निरिक्षक जगत गाहामगरको नेतृत्वमा ७५ जना र अन्य माधत युनिटहरुबाट गरि जम्मा १ सय २० जना प्रहरी सुरक्षाको लागि खटिएको सुुचना अधिकारी शाहीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक जगत गाहा मगर, गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरिक्षक विरेन्द्रसिह थापा र प्रहरी निरिक्षक गोविन्द प्रसाद भण्डारी गरि तिन जना प्रहरी निरिक्षको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।
जात्रामा जिल्ला प्रहरी कार्यालय दार्चुला, शंकरपुर प्रहरी चौकी, मालिकार्जुन प्रहरी चौकी, र गोकुलेश्वर इलाका कार्यालय बाट सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यस्तै इन्सेपेक्टर नरेश चौधरीको नेतृत्वमा ३५ जना सशस्त्र प्रहरी खटिएका छन् । ४४ नम्बर गण हेडक्वाटर, लालि र दत्तु विओपीबाट गरि ३५ जना सशस्त्र प्रहरी शान्ति सुरक्षाका लागि मालिकार्जुनमा जात्रामा खटिएको गणपती डम्बर विष्टले जानकारी दिए । टोलीमा इन्सेपेक्टर खकेन्द्र चापागाई समेत रहेका छन ।
हिजो मात्रै निर्वाचनको सुरक्षार्थका लागि ४४ नम्बर गण हेडक्वाटर दार्चुलाबाट वैतडी, आछाम र बझाङका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।
