दार्चुला भदौ ३१ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) कर्मचारीले दुहुँ गाउँपालिकाका बाढी र पहिरो पिडितलाई राहत रकम हस्तान्त्रण गरेको छ । सुदुरपश्चिम प्रदेश अन्तरगत विभिन्न जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत संगठनमा आबद्ध कर्मचारीहरुले स्वैच्छिक रुपमा संकलन गरेको राहत रकम सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टको रहोबरमा दुहुँ गाउँपालिका–२ का वडा अध्यक्ष गोबिन्द सिंह डडाललाई एक लाख एक हजारको चेक हस्तान्त्रण गरिएको हो ।
संगठनमा आबद्ध विभिन्न तहका २१ जना निजामति कर्मचारीले दुहुँका बाढी पहिरो पिडितलाई राहत स्वरुप उक्त रकम हस्तान्त्रण गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाका अध्यक्ष आन सिंह डागाले जानकारी दिए । गाउँपालिकाको बाढी पहिरो राहत कोषको खातामा जम्मा गर्ने गरी चेक हस्तान्त्रण गरिएको उनले वताए । चेक बुझ्दै वडा अध्यक्ष गोबिन्द सिंह डडाले विपदको बेला सहयोग गर्नुहुने संगठनमा आबद्ध कर्मचारीलाई विषेश धन्यबाद दिनुभएको छ । संगठनमा आबद्ध कर्मचारीले सबै भन्दा बढी १० हजार तथा सबै भन्दा कम २ हजार सम्म स्वैच्छिक राहत संकलन गरी बाढी पहिरो पिडितका लागी सहयोग गरेको छ ।
भदौ १३ गते आएको बाढी र पहिरोका कारण दुहुँ गाउँपालिका वडा नम्बर १, २, र ५ का गरी १ हजार ८ सय ८९ जना मानिस प्रभावित भएका छन्, ४६ घर पूर्ण क्षति तथा ९५ घरमा आंशिक क्षति, १ सय ११ घर उच्च जोखिम र १३ घर जोखिममा रहेका छन् । बाढी र पहिरोमा परि ५ जनाको ज्यान गएको छ । बाढी पहिरोले ७ ओटा झोलुङ्गे पुल, १ मोटरेवल र १ आरसीसी पुल, ५ ओटा लघुजल विद्युत र ४ ओटा विद्यालय भवनमा पूर्ण क्षति गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय