काठमाडौँ : इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब र लुम्बिनी क्लबले विजयी शुरुवात गरेका छन्। इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्। साविक विजेता एपिएफले गण्डकीबाट पाएको ५२ रनको समान्य लक्ष्य ८.४ ओभरमा तीन विकेट गुमाउँदै भेटाउँदै प्रतियोगितामा सुखद शुरुवात गरेको हो। एपिएफका लागि कप्तान सीता राना मगरले अविजित १९ तथा रोमा थापाले अविजित १४ रनको पारी खेल्दा ओपनर ज्योति पाण्डेले ८ रनको योगदान गरिन्। यस्तै इन्दु बर्मा र सरिता मगर शून्यमा पेभेलियन फर्किए। बलिङतर्फ गण्डकीका लागि तीनै विकेट कप्तान सृष्टि जैसीले निकालिन्। यो जितसँगै समूह ‘ए’ को एपिएफले समूह तालिकामा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै २० ओभरमा सात विकेट गुमाएर मात्र ५१ रनको योगफल बनाउन सक्यो। गण्डकीका लागि कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन। १० रन अतिरिक्त पाएको थियो। शनिवार नै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो। लुम्बिनीबाट पाएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्र जोड्न सक्यो। जवाफी ब्याटिङ गरेको कर्णालीका लागि यमुना थारूले १३ र किरण कुँवरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कृत्तिका मरासिनी र मधु डिसीले समान तीन तथा सुस्मिता भुसालले दुई विकेट लिए। यसअघि जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो। पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोड्दा सरस्वती पुनले अविजित ३०, आस्मा पुलामी मगरले १४ र रञ्जु श्रेष्ठले १० रन बनाए। यस्तै कप्तान सरस्वती जिएमले ४ तथा सुस्मिता बजगाई शून्यमा पेभेलियन फर्किएका थिए। कर्णालीले ४३ रन अतिरिक्त दिएको छ। जसमा ४३ बल वाइड बल रहेका थिए। बलिङतर्फ कर्णालीका लागि यमुना थारू र कप्तान विना थापाले समान दुई/दुई विकेट निकाल्दा रमा बुढाथोकीले एक विकेट हात पारिन्। प्रतियोगितामा एक विभागीय टोलीसहित सात प्रदेशले सहभागिता जनाएका छन्। क्यानको आयोजना भएको प्रतियोगिता ७ माघसम्म चल्नेछ। थाहा खबर
