दार्चुला । २०७९ को माध्यमिक शिक्षा परिक्षा (एसईई) चैतमा संचालन हुने भएको छ । आगामी चैत १७ गते देखि २९ गते सम्म संचालन हुने माध्यमिक शिक्षा परिक्षा ( एसईई) मा जिल्लाभरीबाट झण्डै ३ हजार विद्यार्थीे सहभागी हुने भएका छन् । जिल्लामा साधारण र प्राविधिक धारतर्फ गरि एसइइ परिक्षामा २ हजार ९ सय ७१ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ ।
जसमध्ये नियमित तर्फ २ हजार ८ सय ८२ र ग्रेडवृद्धितर्फ ८९ जना विद्यार्थी रहेका छन् । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई) को तालिका सार्वजनिक गरेपछि जिल्लामा परिक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ । जिल्लामा एसईई परिक्षा संचालनका लागि १६ परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय, इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।
जिल्लाभरी रहेका ७५ माध्यमिक विद्यालयका लागि १६ परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय, इकाइ दार्चुलाका प्रमुख पन्तले बताए । १६ परिक्षा केन्द्रमध्ये सबैभन्दा धेरै मालिकार्जुन नमुना माध्यमिक विद्यालय धाप परिक्षाकेन्द्रमा ५ विद्यालयका ३ सय ४७ जना विद्यार्थी सहभागी हुनेछन् भने सबैभन्दा न्युन राष्ट्रिय मावि दत्तुमा २ विद्यालयका ४० जना विद्यार्थी परिक्षामा सहभागी हुने जनाएको छ ।
महेन्द्र नमुना मावि खलंगा परिक्षा केन्द्रमा सामुदायिक र संस्थागत गरि ७ विद्यालयका २ सय ८६ जना, गोकुलेश्वर मावि गोकुलेश्वर परिक्षा केन्द्रमा ८ विद्यालयका ३ सय १८ जना, शंकरपुर माध्यमिक विद्यालय पस्ती परिक्षा केन्द्रमा ५ विद्यालयका १ सय ५५ जना र लटिनाथ मावि रस्कोट मार्मा परिक्षा केन्द्रमा ५ विद्यालयका २ सय २२ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरि तपोवन मावि परपडा मार्मा परिक्षा केन्द्रमा ५ विद्यालयका २ सय ३६ जना, हिमालय मावि हुती परिक्षा केन्द्रमा ५ विद्यालयका १ सय ५७ जना, कृष्ण मावि लालि परिक्षा केन्द्रमा ३ विद्यालयका ६६ जना, लटिनाथ मावि चन्दपुर चौपाता परिक्षा केन्द्रमा ६ विद्यालयका १ सय ८१ विद्यार्थीले एसईई परिक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ, दार्चुलाको तथ्याकंले देखाएको छ ।
गणेश विनायक मावि सिप्टी परिक्षा केन्द्रमा ४ विद्यालयका २ सय ८ जना, लटिनाथ मावि खार परिक्षा केन्द्रमा ४ विद्यालयका २ सय ५ जना, जनविकास मावि बारबाज परिक्षाकेन्द्रमा ५ विद्यालयका १ सय ३३ जना, मालिकार्जुन मावि मड परिक्षाकेन्द्रमा ५ विद्यालयका १ सय ९७ जना, सरस्वती मावि उकु परिक्षा केन्द्रमा ४ विद्यालयका १ सय ८ जना र कृष्ण मावि बलाँच परिक्षाकेन्द्रमा २ विद्यालयका १ सय ३० जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । माध्यमिक परिक्षा बोर्डका अनुसार आगामी चैत १७ गते देखि चैत २९ गतेसम्म विहान ८ वजेदेखि ११ वजेसम्म परिक्षा संचालन हुनेछ । साधारणतर्फको परिक्षा चैत २६ गते सम्पन्न हुनेछ भने प्राविधिक धारतर्फको परिक्षा चैत २९ गते सम्म संचालन हुने जनाएको छ ।
साधारणतर्फको परिक्षाको पहिलो दिन चैत १७ गते अनिवार्य अंग्रेजी, चैत १९ गते अनिवार्य गणित, चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य विज्ञान, चैत २३ गते अनिवार्य सामाजिक अध्ययन, चैत २४ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत २५ गते ऐच्छिक प्रथम र चैत २६ गते ऐच्छिक द्धितिय प्रश्नपत्रका सवै विषयहरुको परिक्षा संचालन हुने समयतालिका रहेको छ ।
