दार्चुला असोज ०१ । नगरपालिका क्षेत्र भित्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सामुदायिक विद्यालयहरुको वाल विकास कक्षालाई सवलीकरण गरिएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए । सदरमुकाम खलंगामा रहेको पशुपति शिक्षा मन्दिरमा सवलीकरण गरिएको वाल विकास कक्षा उद्घाटन गर्दै नगर प्रमुख भट्टले यस्तो बताए । वालवालिकाहरुको शैक्षिक गुणस्तरको आधार वलियो बनाउनका लागी वाल विकास कक्षा सवलिकरणको अवधारणा स्थापना गरी नगरपालिका अघि बढेको उनको भनाई छ ।
वालवालिकाले विना दवाव वाल विकास कक्षा मार्फत ज्ञान, सिप र कला सम्बन्धिको ज्ञान हासिल गर्न सकुन भन्ने उद्देश्यले नगरपालिकाले कक्षा सवलीकरणमा विशेष जोड दिएको उनले वताए । सवलीकरण कक्षा मार्फत वालवालिकाहरुले सहज रुपमा ज्ञान आर्जन गर्नेमा आफु विश्वस्त रहेको भन्दै नगर प्रमुख भट्टले उपलब्ध शैक्षिक सामाग्रीको सहि सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्नु भएको छ । आफु निर्वाचित भएर आए देखी शैक्षिक नगरीको परिकल्पना गरी शिक्षा क्षेत्रको विकासमा अहोरात्र खटिएको उनले वताए ।
वालवालिकाको शैक्षिक आधर बलियो बनाउन नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयको वाल विकास कक्षा सवलीकरणमा ३ लाख रुपैया लगानी गर्दै आएको छ । कक्षा कोठामा विभिन्न प्रकारका मनोरञ्जनात्मक शैक्षिक सामग्री, (अडियो भिडियो) मार्फत शैक्षिक सामग्री प्रस्तुत गर्न एलसिडि सहितको व्यवस्था रहेको छ । वालवालिकाले खेल्दा खेल्दा ज्ञान, सिप सिक्न सक्ने खालका शैक्षिक सामग्रीहरु कक्षाकोठामा उपलब्ध रहन्छन् ।
नगरपालिका भित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरु मध्ये हाल सम्म २५ वटा विद्यालयहरुका वाल विकास कक्षाहरु सवलीकरण गरि सकिएको शिक्षा शाखाका स्रोत व्यक्ती मान सिंह धामीले जानकारी दिनुभयो । सोही कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका संस्थागत विद्यालय बसन्त भ्याली पब्लिक स्कुलका संस्थापक अध्यक्ष अन्तराम ढाँटले नगरपालिका स्थापना भई जनप्रतिनिधि आए संगै संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धिका लागी जिवन्त राम्रो काम गरिरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमसिह खातीले शैक्षिक गुणस्तर अभिबृद्धिका लागी नगरपालिकाले गरेको सहयोगको प्रसंसा गर्दै धन्यबाद व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष भुवनेश्वर अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हंसराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो । विद्यालयका सहायक प्रधानाचार्य नविन जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, पत्रकार तथा अभिभावकको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs