दार्चुला । १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन १२ गते देखि १६ गते सम्म संञ्चालन हुने भएको छ । मंगलबार जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मान सिह बुढाथोकीको अध्यक्षतामा बसेको राष्ट्रपति रनिङ्गशिल्ड ब्यवस्थापन तथा निर्देशन समितिको बैठकले फागुन १२ गते देखि १६ गते सम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । सोही कार्यविधि अनुसार प्रतियोगिता सञ्चालन हुने बताइएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका छात्र र छात्रा खेलाडीहरुको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो लगायतका विभिन्न खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दाचृुलाले जनाएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाले पालिकास्तरमा छनोट प्रतियोगिता सम्पन गरिसकेका छन । छनोट भएका खेलाडीहरुको नामावली फागुन १० गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।
