दिपक खाती, दार्चुला । लिम्पियाधुरा बाट बग्ने पवित्र गंगा महाकालीको छालमा,बार्है महिना हिउँ टल्किने, अपि नाम्पा र जेठिबहुरानी हिमालको काखमा रहेको छ दार्चुलाको ब्याँस गाउँपालिका !
ब्याँस को परिचय भन्दा त्रीदेशिय सिमानाकामा रहेको,ब्याँस ऋषिको तपोभुमि,सामरिक महत्त्व बोकेको,हिन्दुधर्मावल्बीको प्रवित्र धार्मिक तिर्थस्थल कैलाश मानशरोवरको प्रवेशद्वार,बहुमुल्य जडिबुटीको खानी जस्ता शब्दको प्रयोग नगर्दा ब्याँसको परिचय पुर्ण हुँदैन !भौगोलिक रुपमा विकट रहेपनी प्राकृतिक सांस्कृतिक,पर्यटनका दृस्ठिकोणले अथाह सम्भावना बोकेको,लसुन देखि सुन फल्ने पाखाले भरिपुर्ण र विभिन्न कला,संस्कृती,भेषभुसा, विभिन्न जातजातिको बसोबास भएको गाउँपालिका हो ब्याँस !
फरकफरक कला संस्कृती,परम्पराले ब्याँसको छुट्टै  पहिचान बनेको छ ! नेपालमै छुट्टै पहिचान,रहनसहन र सांस्कृतिक पहिचान भएको शौका समुदायको बसोबास समेत रहेको ब्याँसमा भिन्न जातजातिका भिन्न संस्कृति रहेको छ ! शौका समुदायको मुख्य बसोबास ब्यासको वडा नम्बर १ छाङरु,तिङकर र वडा नम्बर २ को राप्लामा र अपिहिमाल गाउँपालिकाको ६ मा रहेको छ ! छाङरु बस्ने लाई छङर्याल,तिङकर बस्नेलाई तिङकरी र राप्लाका शौका समुदाय पहिला `थि´भन्ने ठाउँमा बस्ने हुनाले थियाल भन्ने गरेकाछन ! शौका समुदायमा पनि वडा नम्बर १ र २ मा बस्ने शौका समुदायको आ-आफ्नै संस्कृती छ ! राप्लाका शौकाहरुको मुख्य पर्वका रूपमा किर्जे पर्व रहेको छ ! किर्जे पर्वको आफ्नै ऐतिहासिक महत्त्व रहेको छ किर्जे लाई ब्याँसीहरुले कंडाली  मेला पनि भन्छन् !
यस राप्ला गाउँका ब्यासीहरुले बाह्र बर्षे किर्जे पर्व भव्यताका साथ मनाउने गर्दछ्न । प्राय ब्यासीजातीहरुले यसलाई कंडाली भन्ने गर्छन् । उनिहरुको मातृभाषामा किर्जी एकप्रकारको झाडी घासको नाम हो । उक्त किर्जे(कंडाली) घाँस प्रत्येक बर्ष एक एक आख्लाका दरले वृद्धि हुँदै गएर १२ बर्षमा बाह्रौं आख्ला पुगेपछि फुल फुल्ने गर्दछ । यसको फुल बैजनी रंगको फुल फुल्ने किर्जे बिषालु पनि हुने भनाई छ । किर्जे घाँस एक वेसाहरा महिलाको शरीरमा बिझाउदा लामो समयसम्म घाउ सन्चो नभएर पिडाले छट्पटीएर  मृत्यु भएको र घाउको उपचारको लागी विभिन्न औषधि प्रयोग गरि ज्योतिषले छारफुक गर्दा समेत सन्चो नहुदा गाउँमा महामारी आउने संकटले गाउँका लामा तथा ठुलाबडाको सल्लाह अनुसार सबै मिलेर किर्जे घाँस फुल्नेबेला काटेर बैरिको अन्त्य गरि विजय उत्सवको रूपमा मनाउन थालिएको हो । किम्बदन्ती अनुसार किर्जे घाँसले प्रौढ महिला माथी मात्रै आक्रमण गर्ने हुँदा किर्जे काट्न जादा पुरुष भन्दा पनि महिलाहरू अगाडि लाईनमा गएर घाँस संगको लडाईमा नेतृत्व लिनुपर्ने मान्यता छ ।
 किर्जे फुल्ने बर्षमा गाउँमा सबै महिला र पुरुषले एक निश्चित दिन तोकेर सो दिन आफ्ना छिमेकी गाउँका ईष्टमित्र साथिभाईलाई निमन्त्रणा गरि महोत्सवका रूपमा भव्यताका साथ किर्जे पर्व बनाउने गर्दछ्न ।
यो पर्वको दिन गाउँलेहरुले सरसफाइ बाहेक अन्य काम गर्न नहुने परम्परा रहेको छ ।
किर्जे पर्वको दिन बिहानै देखि प्रत्येक घरका महिला र पुरुषहरु आआफ्नो परम्परागत भेषभुषा र गहनाहरुमा श्रृङ्गारिने गर्छन् ।
 त्यसपछि किर्जे संगको लडाईको लागी पुरुषहरु ढाल,तरवार र महिलाहरुले हसिया र रिल (गलैंचा,चुट्का बुन्दा प्रयोग गरिने तरवार जस्तै काठको हतियार) हातहातमा समातेर किर्जे फुल्ने एउटा निश्चित ठाउँमा बाजागाजा सहितजाने गर्छन् । यसरी जानेबेलामा सबैभन्दा अग्रपंक्तिमा धामी,त्यसपछि गाउँका बुढा,मुखिया र त्यसपछि गाउँका अन्य महिला पुरुषहरु लाईन लागेर नाच्दै बन्दुक पड्काउदै गएर किर्जेको बोटलाई तरवारले काटेर त्यसलाई सबै जनाले  आआफ्नो हातमा बोकेर बाजागाजा सहित घरमा ल्याउने गर्दछ्न। गाउँका मुखियाको घरको आगनमा किर्जेको बोटलाई अचानोमा राखी सबैले चारैतिर घुम्दै तरवार,हसियाले त्यसमाथि प्रहार गर्दै नाज्ने गर्दछन । किर्जेको बोटलाई दुश्मनको रूपमा हेर्ने समुदायको परम्परागत मान्यता रहेको हुँदा आज हामीहरूले यसलाई  मार्यौ,काट्यौ अब उप्रान्त तिमिले उम्रनु पर्दैन भन्दै किर्जेको बिषालु शक्ति माथी बिजय प्राप्त गरेको उत्सवको रूपमा यो पर्व मनाईने गरिन्छ । उक्त दिन प्रत्येक गाउँलेहरुले आआफ्नो घरमा दियोबत्ती बालेर उत्सव मनाउने चलन छ ।
यो किर्जे मेलामा सहभागी सबैजनाले किर्जे फुलेको ठाउँ सम्म जादा र त्यसबाट फर्केर घरमाआउँदा धेरै होसियारी अपनाउनु पर्दछ। यदि कुनै कारणबस महोत्सवमा जादा आउँदा कुनै मान्छे चिप्लेर लड्यो या कसैको खुट्टामा चोट लाग्यो भने सो व्यक्तिको हार र किर्जेको जित भएको मान्ने जनविश्वास भएका कारण होसियारी अपनाउने गरिन्छ र  किर्जे संग हारेको मान्छेको केही समयमै मृत्यु हुने विस्वाससमेत रहेको छ । यसरी पर्वको कार्यक्रम सम्पन्न भए पश्चात् भोजभतेर तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरि २/३ दिन सम्म धुमधाम साथ महोत्सव मनाउने गरेको पाईन्छ । यस महोत्सवमा छिमेकी गाउँ तथा टाढाबाट आएका पाहुनाहरुलाई सबै गाउँलेहरु मिलेर खाने र बस्नका लागि व्यवस्था मिलाउने गर्छन् ।
किर्जी परम्परा ।
—————
लडाईका लागि प्रस्थान गर्नु भन्दा पहिले शुभ साईतको लागि देविदेवता लाई फुलपाती चढाएर सोकनाथ पुजा गरिन्छ । पुरुष भन्दा महिलाको भुमिका रहने घाँस संगको लडाईमा सावधानी पुर्वक लड्नुपर्ने हुन्छ । घाँस काट्दा या नाङ्गै हिड्दा कोहि व्यक्ति चिप्लियो भने हार मानिने साथै अर्को मेलासम्म चिप्लिने व्यक्तिको मृत्यु हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । किर्जी संगको लडाईमा नाच्दै गएर फर्किए सम्म कसैले पनि बाटो काट्न दिईदैन । लडाईको लागी प्रस्थान गर्दा जेष्ठताका आधारमा श्रेणिवद्व भएर लाईनमा नाच्दै अगाडि बढ्छ्न । अगाडिबाट बन्दुक बोकेका युवाहरूको सुरक्षामा पहिलो पंक्तिमा लामा,बडा,सेना अनी उहाहरुका श्रीमती त्यसपछि अन्य महिलाहरू र अन्त्यमा पुरुषहरुको स्थान हुन्छ । किर्जी घाँस भएको ठाउँमा नाच्दै पुगेपछि बन्दुकको आक्रमण संगै बाजाको तालमा पुरुषहरुले तरवाल तथा महिलाहरुले हसियाले घासलाई काट्ने गर्छन् । काटिसकेको घासलाई प्रत्येकले एकएक मुठा हातमा लिएर नाच्दै आगनसम्म पुगाउछ्न र सबैले उक्त घासलाई आगनको बीच मुढामाथी राखेर बाजाको तालमा नाच्दै टुक्राटुक्रा गर्न थाल्छन् । सबैभन्दा पहिले लामा,बडा,र सेनाले नाच्दै टुक्रा पारेपछि अन्य युवा तथा वृद्धहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गर्दै घासलाई टुक्राटुक्रा पार्छन् । यसरी किर्जी संगको लडाई जितिसकेपछी बडा र सेनाको आगमन गएर लोकनाथ पुज्ने गरिन्छ ।
नोट – यो लेख राप्लाका स्थानीय संगको कुराकानीमा आधारित रहेर लेखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय