धनगढी– हालैको जेन्जी आन्दोलनका क्रममा भएको आगजनीले नेपाल भरिनै सरकारी कार्यालहरुमा क्षति पुगेको छ । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाका सहित नगरपालिकाका सम्पूर्ण वडा हरूमा समेत ठुलो क्षति पुगेको छ । कार्यालयका महत्त्वपूर्ण कागजात, उपकरण र संरचनाहरू जलेर नष्ट भएपछि जन साधारणका लागि दैनिक प्रशासनिक सेवा पाउन कठिनाइ भइरहेको घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष घनश्याम ओझाले बताएका छन् ।
जेन्जी आन्दोलनको क्रममा नगरपालिकाका सबै वडाहरूमा आगलागी भएको र वडाहरूको भवनबाट सेवा प्रवाह गर्न समेत समस्या भएको र अहिले विभिन्न अन्य सामुदायिक सङ्घ संस्थाका भवनबाट सेवा प्रवाह गरिरहेको समेत प्रवक्ता ओझाले बताए ।
समाजप्रतिको उत्तरदायित्व र सहयोगी भावना बोकेको चैतन्य पाठशालाले जेन्जी आन्दोलनपछि क्षतिग्रस्त भएका सरकारी निकायहरूलाई प्रविधि सहयोग गर्दै आएकोमा आज विद्यालयको सामाजिक विभागको पहलमा चैतन्य ग्रुप अफ कम्पनीका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशी र चैतन्य पाठशालाका शिक्षक विद्यार्थी सङ्घका अध्यक्ष ईश्वर गिरीको उपस्थितिमा कैलालीको घोडाघोडी नगरपालिका र सोही नगर पालिकाको वडा न.१ को कार्यालयलाई एक–एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
यस्तो संवेदनशील समयमा समाजप्रति उत्तरदायी भावनासहित अगाडि आएको चैतन्य पाठशाला धनगढीले नगरपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा पुनः सहज र सुचारु बनाउन सहयोग स्वरूप एक–एक थान कम्प्युटर उपलब्ध गराएको हो ।
चैतन्य पाठशालाले “समाजको सकारात्मक रूपान्तरणका लागि शिक्षा, सहृदयता र सचेतना” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ। यस पटक पनि विद्यालयले कुनै औपचारिक आग्रह वा मागबिना नै स्वतःस्फूर्त रूपमा यो सहयोग गरेकोमा नगरपालिकाका मेयर खडक बहादुर रावतले पाठशाला परिवारलाई धन्यावाद ज्ञापन गरेका छन् । विद्यालयले सामाजिक चेतना र मानवीय भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको समेत उनले बताएका छन् ।
चैतन्य पाठशालाको सामाजिक विभागको पहलमा यस अघि जिल्ला प्रशासन कार्यालय कैलालीमा तीन थान कम्प्युटर टेवल, गौरीगङ्गा नगरपालिका कैलाली जिल्ला कारागार, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका वडा न.१३ लाई समेत विभिन्न सहयोग हस्तान्तरण गरिसकेको छ ।
