वीरेन्द्रनगर — जाजरकोटमा भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् । मंगलबार राति ८ बजे तिर जाजरकोटको कुशे गाउँपालिका- ४ दल्लेका विष्णु थापा र दलसरी थापाको अस्थायी टहरामा माथिबाट पहिरो आएको हो । पहिरोले टहरा पुरिँदा दलसरीसहित उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका छन् । विष्णुकी २९ वर्षीया श्रीमती कमला थापा घटनामा परी घाइते भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । उनका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।
