बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा उक्त कार्यक्रम सुरु गरेको हो ।

नासु तथा खरिदार पदका लागि लक्षित लोकसेवा तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिँदै आएकोमा यसको प्रभावकारिता अभिवृद्धि गर्न हालै भौतिक रूपमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले लोकसेवाका बहुआयामिक पक्षहरूबारे प्रशिक्षण दिनुका साथै परीक्षामा सफल हुन आवश्यक रणनीतिक सिकाइ, लेखाइ अभ्यास तथा तयारीका विधिहरूबारे जानकारी गराएका थिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रशासनिक प्रमुख पिताम्बर पाण्डेले नगरपालिकाले उपलब्ध गराएको अवसरको सदुपयोग गर्दै लक्ष्यप्राप्तितर्फ अग्रसर भई सफलता हासिल गर्न सहभागी युवाहरूलाई शुभकामना व्यक्त गरेका हुन ।

चैतन्य एकेडेमी बुटवलका व्यवस्थापक दीपक ढकालका अनुसार प्रशिक्षण कार्यक्रम तीन महिनासम्म सञ्चालन हुनेछ ।यस अवधिमा समय–समयमा भौतिक कक्षा तथा नमुना परीक्षा पनि सञ्चालन गरिनेछ ।

शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माका अनुसार कार्यक्रममा ५० भन्दा बढी युवाहरू सहभागी भई प्रशिक्षण लिइरहेका छन् ।

चैतन्य एकेडेमी बुटवलले विगत डेढ वर्षदेखि नासु, खरिदार, बैंकिङ, शिक्षक सेवा, शाखा अधिकृत तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ । साथै, नासुदेखि सहसचिवसम्मका परीक्षाहरूको तयारीसम्बन्धी कक्षाहरू पनि सञ्चालन हुँदै आएको एकेडेमीले जनाएको छ ।

स्थानीय स्तरमै काठमाडौंसरहका सुविधा उपलब्ध हुन थालेपछि परीक्षार्थीहरू उत्साहित देखिएका छन् । बुटवल शाखा स्थापना भएको छोटो अवधिमै २५ भन्दा बढी विद्यार्थी निजामती सेवामा प्रवेश गर्न सफल भएको व्यवस्थापक ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय