काठमाडौँ — गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद्पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री लेखकले विपद्मा परी मृत्यु भएकाका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको जानकारी दिए ।विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिइ ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए । उनले विपद्मा परेर १ सय ३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको जानकारी दिए । ‘यस वर्षको मनसुन सुरु भएको २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटना भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन ।
४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायको नोक्शानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुल बगेका छन, भत्केका छन् । २ वटा सरकारी भवन भत्किएका छन्,’ लेखकले भने, ‘४ हजार ४ परिवार विस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।’ गृहमन्त्री लेखकले अधिकांश विपदका घटनामा नेपाली सेनासमेत खोज र उद्दारमा खटिएको जानकारी दिए । विपद्पछिको राहतका लागि सबै जिल्लामा आवश्यक राहत सामग्रीको प्रबन्ध गरिएको छ । मृत्यु भएका १३० जना मध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको उनले बताए । बाँकी परिवार राहत रकम पाउने प्रक्रियामा रहेको उनको भनाइ छ ।
सरकारले पछिल्लो समयमा बेपत्ता भएका मानिसलाई पनि पत्ता लागेन, खोजी भएन भने त्यस्ता बेपत्ताका परिवारजनलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको पनि मन्त्री लेखकले जानकारी दिए । प्राकृतिक प्रकोपका कारणले घाइते भएका र समयमा अस्पताल ल्याउन जटिलता भएको स्थितिमा ९ जनाको हेलिकप्टरबाट उद्धार गरिएको पनि उनले जानकारी दिए । असार २८ गते चितवन जिल्लाको सिमलताल बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जनामध्ये हालसम्म २४ जनाको शव फेला परेको मन्त्री लेखकले जानकारी दिए । गृहमन्त्री लेखकले चितवनको सिमलतालमा बस दुर्घटनामा परी वेपत्ता भएकाहरुको खोजी कार्यका लागि भारतीय सुरक्षाकर्मी पनि परिचालन गरिएको पनि संसद्लाई जानकारी दिएका छन् । कान्तिपुरबाट
