हेटौंडा — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा युवा नीति र युवामैत्री सरकार चाहिएको बताएका छन् । सीप र क्षमतायुक्त युवा उत्पादन भएको देशमात्र समृद्ध बन्न सक्ने उनले बताए । युवा सीप वर्ष-२०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरुको दीक्षान्त समारोह बिहीबार हेटौंडामा उद्घाटन गर्दै सभामुख घिमिरेले विकास निर्माणका काममा सरकारले युवालाई अगाडि बढाउनुपर्ने सुझाव दिए । कार्यक्रममा संघीय संसदमा नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर–२ बाट निर्वाचित सांसद महेशकुमार बर्तौलाले स्वरोजगार बन्नका लागि सीप सिकाइले काम गर्ने बताए ।

   युवाहरुलाई उत्पादनसँग जोड्नु पर्ने उनको भनाइ थियो । युवाहरुको आशाको रुपमा अहिलेको सरकार रहेको समेत उनले दाबी गरे । कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वाग्मती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालित विभिन्न प्रकारका तालिममा सहभागी युवाहरुलाई एकैपटक प्रमाणपत्र वितरण गरिएको छ । तालिममा २ हजार युवाहरु सहभागी थिए । मकवानपुर, चितवन र सिन्धुली जिल्लामा युवा परिषद्‌मार्फत सीप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । उनीहरुलाई दुई दर्जनभन्दा बढी सीपमुलक तालिम दिइएको थियो । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय