काठमाडौँ — प्रतिबन्धित लागूपदार्थ कोकिनसहित एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र त्रिभुवन विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले ६ किलो २४ ग्राम कोकिनसहित नियन्त्रणमा लिएको हो । बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने प्रहरीले जानकारी दिएको छ । ब्युरो प्रमुख एसएसपी दिनेश आचार्यले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको बताए । कतार एयरवेजको जहाजमा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आवागमन कक्षको ‘वाक थ्रु’ गेटमा जाँच गर्दा उनको साथमा रहेको सुटकेसमा शंकास्पद वस्तु देखिएको थियो । लगेज खोलेर जाँच गर्दा त्यसभित्र प्रतिबन्धित लागूऔषध कोकिन फेला परेको ब्युरोले जनाएको छ । कोकिन रिसिभ गर्ने तयारीमा रहेको गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि असार ६ गते ४ जना विदेशी नागरिकसहित ४ किलो ५०४ ग्राम कोकिन बरामद भएको थियो । ब्युरोको टोलीले नै तान्जिनियाका नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभियन नागरिक ३३ वर्षीया लाउरा क्रुज तिकोना, भेनेजुएलाका नागरिक ३९ वर्षीय सिमोन एन्तोनियो अल्फन्जो रादा र भारतीय नागरिक २७ वर्षीय लालरुवात सांगीलाई क्याप्सुल बनाएर ल्याएको कोकिनसहित पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये डोनाल्ड फ्लाई दुबईमार्फत नेपाल आएका थिए । २ केजी २ सय ६ ग्राम क्याप्सुल आकारमा निलेर उनले कोकिन ल्याएका थिए । लाउरा इमिरेट्सको जहाजमा ब्राजिल हुँदै आएकी थिइन् । महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाएर उनले २ किलो १ सय ग्राम कोकिन भित्र्याएकी थिइन् । कतार एयरबाट नेपाल आएका सिमोनले क्याप्सुल आकारमै निलेर १ किलो १ सय ९८ ग्राम ल्याएकी थिइन् । कोकिन रिसिभ गर्न भारतीय नागरिक काठमाडौं आएका थिए ।
त्यसपछि पनि विदेशी नागरिकहरू एकपछि अर्को गरी कोकिनसहित पक्राउ परेका थिए । गत असार ९ मा कतार एयरबाट आएका तान्जानियाका नागरिक ४६ वर्षीय रामाधानी सिम्बा एम वाबुम्बा र ५२ वर्षीय त्वालिव किपेभु पाशुवालाई ठमेलको एक होटलबाट १ केजी २ सय ४७ ग्राम कोकिनसहित पक्राउ गरेको थियो । त्यस्तै साउन १ मा इन्डिगो एयरलाइन्सबाट भारतको मुम्बई हुँदै नेपाल आएका भारतीय नागरिक फाहिमुद्दीन नासिमुद्दीन अन्सारीलाई पनि ब्युरोको टोलीले नै ठमेलबाट जुसका २ वटा बट्टामा लुकाएको अवस्थामा १ केजी १ सय ग्राम कोकिनसहित पक्राउ गरेको थियो । अन्सारीले पिंगलास्थानस्थित एक होटलमा बसेका नाइजेरियन नागरिक इकेचुक्वाकाइरिल ओबोदोइफुलाबाट लिएको बयान दिएका थिए । त्यसपछि ती ४४ वर्षीय नाइजेरियन नागरिकले पनि आफू कोकिन कतार एयरवेज हुँदै नेपाल आउने क्रममा साथमा लिएर आएको बयान दिएका थिए ।कान्तिपुरबाट
