दार्चुला । विगत लामो समयदेखि नेपाल टेलिकमले दिने सेवाहरु गुणस्तरीय नभएपछि समस्या समाधान तथा सुधारका लागि माग गरिएको छ । दार्चुला जिल्लाको आम नागरिक वा सेवाग्राहीहरुले नेपाल टेलिकमबाट सेवा प्रवाह भएदेखि सेवा लिइरहेका भएपनि गुणस्तरीय सेवा प्राप्त नहुदा ग्राहकहरुलाई समस्या भइरहेको छ, सम्पूर्ण ग्राहकको तर्फबाट नागरिक सामाज दार्चुलाका संयोजक महेशराज भट्ट र दार्चुला बहुमुखी क्याम्पसका उपप्राद्यापक कृष्णसिंह साउँदद्धारा हस्ताक्षरित निवेदनमा भनिएको छ । सुरुमा टेलिकम दार्चुलाले फाइबर नेट जडान भएपछि सबै समस्या समाधान हुने भनि आश्वासन दिएपनि फाइबर जोडिसकिएपछि झन गुणस्तरमा विभिन्न समस्या ग्राहकले भोग्नु परेको नागरिक अगुवाहरुको भनाई छ । सदरमुकाम खलंगामा समेत फोन नलाग्ने, फोन सम्पर्क भएपनि कुरा दुईतर्फी नसुनिने, मोबाइलमा फोनको घण्टी बजेपनि फोन नउठ्ने, बादल र बर्षाको राती पनि फोन लाइन काम कम गर्ने, इन्टरनेट सेवा निकै सुस्त र झण्झटिलो रहेको तथा अनलाइन कक्षा, बैठक लगायतका सेवा फाइबर लाइन आएपछि करिब बन्द नै भएकोले सबै समस्या समाधानका लागि नेपाल टेलिकम दार्चुलालाई अनुरोध गरिएको उहाँहरुको भनाई छ । सञ्चार सेवा गुणस्तरीय एबं प्रभावकारी नहुदा बजारदेखि गाउँघरका सेवाग्राहीले समस्या भोग्दै आएका छन् । फोन र इन्टरनेट सेवाले आवश्यकता अनुसार काम नगर्दा सास्ती भोग्नुपरेको सेवाग्राहीको गुनासो छ । lokdarpantv.com बाट
