काठमाडौँ — सरकारले राजदूत सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाईको लागि आइतबार संसद्‌को सार्वजनिक सुनुवाई समितिमा पठाएको छ । मन्त्रिपरिषद्को साउन १४ मा बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम भने संसदीय समितिमा पठाइएको छैन । परराष्ट्र मन्त्रालयमार्फत १७ मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम आएको संसद सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्ले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो । यस्तै, बेलायतमा पूर्वसचिव चन्द्रप्रसाद घिमिरे, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा पद्मकन्या क्याम्पसका पूर्वप्रमुख धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, दक्षिण कोरियामा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल, मलेसियामा नेत्र तिमिल्सिना, स्पेनमा सनिल नेपाल, श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा सहसचिव प्रकाशमणि पौडेल, पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर, कतारमा रमेशचन्द्र पौडेल र रुसमा जंगबहादुर चौहानलाई राजदूतमा सिफारिस गरिएको थियो । परराष्ट्र मन्त्रालयले भने यसअघि इजरायलको लागि नेपालको राजदूत भइसकेकी कान्ता रिजालको नाम किन संसदीय सुनुवाईको लागि नपठाइएको भन्नेबारे केही खुलाएको छैन । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय