काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग विगतमा सहकार्य गर्नु गलत भएको बताएका छन् । कांग्रेससँग सहकार्य लामो समय जान नसक्ने निष्कर्ष निकालेर वाम एकताका लागि एमालेसँग सहकार्य गरेको तर नियत बुझ्न नसकेको उनको भनाइ छ ।वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीसँगको परामर्श बैठकमा बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालले भने, ‘मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि पत्याएँ । तर एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ ।’ ओलीले धोका दिएको उल्लेख गर्दै उनले वामपन्थी एकताको विषय छाड्न नहुने बताए । ‘मुद्दा मिल्नेसँग मोर्चा गरेर जाने हो । विचार मिल्नेसँग वाम एकता गर्ने हो,’ उनले भने । आम निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री पदमा धोका दिएपछि एमालेसँग गएको र त्यही कारणले पछिल्लो समय कांग्रेसले एमालेबीच गठबन्धन भएको उनको बुझाइ छ । ‘फेरि राम्रै नियतले एमालेसँग गठबन्धन बन्यो । तर त्यो धोका भयो,’ उनले भने ।

   माओवादी आफैं सरकार बनाउन नलाग्ने उल्लेख गर्दै सरकारले माओवादी खोज्नुपर्ने दाहालले बताए । ‘सरकारमा छैनौं तर सदनमा छौं । तत्काल सरकारमा जानतिर लाग्न हुँदैन । तर अब जानै हुँदैन भन्ने कुरा पनि सही होइन,’ दाहालको भनाइ थियो, ‘हाल सरकारमा जाने हतार गर्दैनौ, सरकार हामीसँग आउनुपर्छ ।’ यी प्रश्नबीच बुधबारदेखि दाहालसहित पदाधिकारीको उपस्थितिमा सातै प्रदेशको एकमहिने अभियान वाग्मती प्रदेशबाट सुरु भएको छ । बैठकमा बोल्दै दाहालले आन्तरिक पार्टी एकता र आलोचनात्मक सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन बनाउने तयारी गरेको जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले पार्टीमा विधि र पद्धति नहुँदा नीतिभन्दा नेता हाबी भएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय