दार्चुला-स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा दार्चुलाका स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को संस्थागत स्वमूल्यांकनको नतिजा अनुसार शैल्यशिखर नगरपालिकाले ८४.७५ प्रतिशत अंक पाएको छ । सबैभन्दा पुछारमा रहेको महाकाली नगरपालिकाले ५९.७५ प्रतिशत अंक पाएको छ । मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन गाउँपालिकाले ८१ प्रतिशत अंक ल्याएको छ । यस्तै अपिहिमाल गाउँपालिकाले ८० प्रतिशत, दुहुँ गाउँपालिकाले ७८ प्रतिशत,नौगाड गाउँपालिकाले ७७.५० प्रतिशत अंकप्राप्त गरेको छ । यस्तै मार्मा गाउँपालिकाले ७०.२५ अंक प्राप्त गर्दा व्यास गाउँपालिकाले ६९प्रतिशत तथा लेकम गाउँपालिकाले ६४ प्रतिशत अंक प्राप्त गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

   शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी १० ओटा सूचकमा मूल्यांकन गर्ने गरिएको सो मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अवधारणा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय