धनगढीः योजना सङ्कलन र छनोटमा देखिएको ढिलाइले बजेट आउन अझै समय लाग्ने देखिएको छ। तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयक पास नभएपछि नवगठित सरकारले नयाँ बजेट ल्याउन लागेको हो। तर योजना संकलन र छनोटमा देखिएको भएको ढिलाइले बजेट ल्याइने मिति अनिश्चित बन्न पुगेको छ। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश सभामा बजेट पेस गरेको थियो। तर समयमा पास नहुँदा बजेट शून्यताको अवस्था सिर्जना भएको हो। साउन २० गते नियुक्त मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार नयाँ बजेट निर्माणमा जुटेको छ। तर योजना सङ्कलन र छनोट कार्य नसकिएपछि बजेट ल्याउने मिति तोकिएको छैन्। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट ल्याउने दिन तोक्न सक्ने अवस्था तत्काल नभएको बताए। सार्वजनिक विदा लगायत कारण पनि बजेट ल्याउने मिति तोक्न नसकिएको उनले बताए। बजेट निर्माणको चरण अन्तर्गत आर्थिक मामिला मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगबिच प्रस्तावित बजेट तथा कार्यक्रममा छलफल गरी मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने काम समेत भएको छैन्। आर्थिक मामिला मन्त्रालयले, मन्त्रालय तथा कार्यालयहरूसँग कार्यक्रम माग गर्ने काम भने गरिसकेको छ।तत्कालिन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारमा रहँदा एमालेबाट आर्थिक मामिलामन्त्री रहेका हालका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गरेका थिए। तर सो बजेटको डिजिटल कपी नै बाहिरिएपछि एमालेसँगै उनी आलोचितसमेत बनेका थिए। तर अब ल्याइने बजेटको आकार भने घटेर आउने देखिएको छ। सबै स्थानीय तहले बजेट ल्याइसकेको अवस्थामा वास्तविक बजेट आउने दाबी गरिएको छ। एक अर्ब ३६ करोडले बजेट घटेर आउने भएको छ। प्रदेश सरकारले गरेको अनुमानभन्दा एक अर्ब ३६ करोड संघीय सरकारबाट कम अनुदान आउने भएपछि अब वास्तविक बजेट आउने आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए। दिनेश खबरबाट
