काठमाडौँ — गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नेहरूको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद्‌मा बोलेका छन् । त्यस्तो नाराबाजी गर्नेहरूलाई पक्राउ नगर्न पनि ढकालले गृहमन्त्री रमेश लेखकलाई चेतावनी दिएका छन‍् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद ढकालले युवाहरूको नाराबाजीलाई अवसर र रोजगारीबाट वञ्चित गरिएको परिणाम भएको बताए । ‘गौरापर्वको अवसरमा युवाहरूले विरोध भाषण गरे, यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेज स्क्रिनिङ गरी युवाहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिल्कुल गलत भएको छ । विरोधका बोलीहरू त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ,’ ढकालको भनाइ थियो, ‘स्वदेशमा अवसरबाट वञ्चित रोजगारीबाट बञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको म माग गर्न चाहन्छु ।’ गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित सांस्कृतिका कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवा लगायतले सम्बोधन गर्दा केही युवाहरूले नाराबाजी गरेका थिए । त्यस्तै विभिन्न विभिन्न जिल्लामा सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा युवाहरूलाई पक्राउ गरिएको पनि सांसद ढकालले दाबी गरेका छन् ।

   ‘कमिलाको उड्ने बेलामा प्वाँख पलाउछ, कमिला उड्ने बेलामा प्वाँख पलाएजस्तो नहोस् । हामी पनि यसमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएजस्तै हुन्छ,’ ढकालले भने , ‘गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवाहरूलाई समाउने हो भने टुँडिखेलभरी भरिएका युवाहरूलाई समाउनुपर्छ । क्यामेराले देख्या थिएन होला के गर्नुहुन्छ ? त्रसित नबनाउनुस् युवालाई म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ त्यसपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसद ढकालको भनाइको आलोचना गरेका थिए । उनले सांस्कृतिक कार्यक्रममा अराजक व्यवहार गर्नेहरूलाई समर्थन नगर्न सुझाव पनि दिए । ‘गौरा पर्व विशुद्ध सांस्कृतिक कार्यक्रम हो, संस्कृतिको परिचय पनि हो सुदूरपश्चिमको । टुँडिखेलमा आयोजित कार्यक्रममा प्रस्तुति भयो त्यो उछृंखला र अराजक व्यवहार थियो । युवा, प्रौढ जुनसुकै लिंग, धर्म, वर्णले गरेको भएपनि त्यो उछृङ्खल हो,’ उनले भने । त्यस्ता गतिविधिको पक्षमा संसद्‌मा विषय उठाउनु सही नभएको प्रमुख सचेतक घिमिरेको भनाइ थियो । उनले त्यस्ता कुरालाई लिएर संसद्‌मा बोल्दा कस्तो कुरालाई समर्थन गरिरहेको हो र मुलुकलाई कुन दिशामा लगिरहेको हो भन्ने प्रश्न उठ्ने बताए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय