दार्चुला — शैल्यशिखर नगरपालिकामा जिउँदो व्यक्तिलाई मृतक घोषणा गर्दै कृषक समूहको बैंक खाता नवीकरण गरी रकम निकासी गर्ने योजनासहितको प्रयास सार्वजनिक भएपछि स्थानीय तहको प्रशासन, जनप्रतिनिधि र कृषि शाखामाथि गम्भीर प्रश्न उठेको छ।
शैल्यशिखर नगरपालिका–६ मा रहेको श्री मालिकार्जुन अगुवा कृषक समूहको ग्लोबल आइएमई बैंक, गोकुलेश्वर शाखामा रहेको खाता नं. १०१०१०१००००३४४ निष्क्रिय भएको भन्दै नयाँ अध्यक्ष जनक सिंह धामीले खातामा हस्ताक्षर परिवर्तन गर्न निवेदन दिएका थिए। सोही आधारमा कृषि शाखा प्रमुख दीपकराज विष्टले बैंकमा खाता नवीकरणका लागि सिफारिस पठाएका थिए।
सिफारिस पत्रमा समूहकी सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको उल्लेख गरिएको थियो। तर बैंकले प्रक्रिया अघि बढाउने क्रममा भनिएका मृतकहरूलाई सम्पर्क गर्दा दुवै व्यक्ति जिउँदै फेला परेपछि घटनाले मोड लिएको हो।
खाता नवीकरण गर्न पुगेका समूह अध्यक्ष जनक सिंह धामी, जो शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका छोरा हुन्, उनैको पहलमा मृतक सिफारिस गरिएको खुलेपछि स्थानीयबासी आक्रोशित बनेका छन्। प्रमाण नपु¥याई झूटा विवरण तयार पारिएको, प्रशासनबाटै त्यसलाई सिफारिस गरिएको र बैंक ठग्ने प्रयास भएको भन्दै विरोध चुलिएको छ।
समूहकै पुराना पदाधिकारीलाई मृत देखाएर नयाँ हस्ताक्षरदाताको नाममा खाता नवीकरण गर्ने प्रयास नगरपालिकाभित्रको मिलेमतोबिना सम्भव नरहेको भन्दै छानबिनको माग उठेको छ। नागरिकहरूले दोषीलाई कानुनी दायरामा ल्याउन दबाब दिन थालेका छन्।
घटनापछि नगरपालिकाले छानबिन प्रक्रिया अघि बढाएको वा नबढाएको भन्ने बारेमा आधिकारिक धारणा आइसकेको छैन। तर यति गम्भीर लापरवाही र योजनाबद्ध ठगी प्रयासमा संलग्न व्यक्तिहरूलाई संरक्षण दिइने हो भने, स्थानीय सरकारप्रतिको जनविश्वास नराम्ररी खस्कने खतरा देखिएको छ।
