दार्चुला — जिल्ला प्रशासन कार्यालय दार्चुलाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मोहन सिंह धामीले कार्यालयको कार्यक्षेत्र, सेवा सुधार, समन्वय, शान्ति–सुरक्षा तथा आगामी योजनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।
धामीका अनुसार प्रशासन कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण, विपद् व्यवस्थापन अन्तर्गत उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। साथै, बजार अनुगमन र उपभोक्ता संरक्षणमा समेत कार्यालयले निरन्तर सक्रियता देखाएको छ।
कार्यक्रममा जानकारी गराइएअनुसार ब्लड बैंक स्थापनाका लागि निजामती कर्मचारी तथा सुरक्षाकर्मीबाट स्वेच्छिक रूपमा संकलन गरिएको ५ लाख २ हजार ८ सय ८१ रुपैयाँ हस्तान्तरण गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले १३ पटक बजार अनुगमन गरेको, ४ हजार १ सय ६२ वटा नागरिकता, १ हजार ३ सय ३८ राहदानी, ८ हजार ३ सय ७२ राष्ट्रिय परिचयपत्र वितरण गरेको र ३२ वटा मुद्धा तथा १३ वटा संघसंस्थाको दर्ता गरेको उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, कर्मचारी तथा सरोकारवालाको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दार्चुला शाखाका पूर्वअध्यक्ष कृष्ण सिंह धामीले गर्नुभएको थियो।
