
बैतडी — धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको जीप बैतडीको पाटन नगरपालिका–६, खिपालीमा दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। सुप प्र ०४–००१ ज १३७२ नम्बरको उक्त जीप आज बिहान करिब साढे ५ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
घाइतेहरूमा बैतडी डिलासैनीका २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ३२ वर्षीय किरण बोहरा, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरती खत्री, दुई वर्षीया एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना तथा चालक लालबहादुर राना रहेका छन्।
उद्धारमा इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयवासीहरू खटिएका थिए। सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ भने गम्भीर अवस्थामा रहेका कुल्मा धामी, हेमन्त भट्ट र चालक लालबहादुरलाई थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको जनाइएको छ।