दार्चुला –दार्चुलाको विकट हिमाली बस्ती दुम्लिङ्ग, जहाँ महाकाली नदी पार गर्न अझै पनि तुइनमा जीवन भरोसा गर्नु बाध्यता बनेको छ। यही जोखिमपूर्ण यात्रा गर्दै गर्दा ३२ वर्षको अवधिमा २३ जना नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
ब्याँस गाउँपालिका–२ दुम्लिङ्ग गाउँका वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार २०५० सालदेखि २०८२ असार मसान्तसम्मको तथ्यांकमा दुम्लिङ्गका २० र अन्य ठाउँका ३ गरी कुल २३ जना तुइनबाट खसेर वेपत्ता भएका छन्। यस्ता घटनामा वेपत्ताहरूको हालसम्म अवस्था अज्ञात नै छ।
महाकाली नदीपार भारतीय बजारसम्म पुग्न दुम्लिङ्गवासीले प्रयोग गर्दै आएको अवैध तुइन नै यी घटनाको मुख्य कारण हो। तिनै तुइनबाट मङ्गलबार मात्रै २८ वर्षीय नारायण बुढाथोकी महाकाली नदीमा खसेर वेपत्ता भएका छन्।
दुम्लिङ्ग र भारतको घट्टेबगड सीमाबाट हुने दैनिक ओहोरदोहोरमा डोरी चुडिनु, तुइन बिग्रनु वा सन्तुलन गुमाउनु सामान्य घटना भएको बताइन्छ। हालसम्म वेपत्ता भएकामध्ये सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, विनिता बुढाथोकी, सचिन बुढाथोकी, भवानसिंह कुवर, किस्मा धामी, देवसिंह धामी, बसन्ती कामी, जयसिंह धामी लगायतका नाम समावेश छन्।
यस जोखिमको अन्त्यको माग गर्दै स्थानीयले दुम्लिङ्ग–भारत जोड्ने सुरक्षित झोलुङ्गे पुल निर्माणका लागि पटक–पटक सरकारसँग आग्रह गरेका छन्। तर दुम्लिङ्गबाट मालगाउँमा बनेको पुलसम्म तीन घण्टाको पैदल दूरी पार गर्नु पर्ने बाध्यता छ।
नेपाल सरकारको तुइन विस्थापन योजना अन्तर्गत जिल्लाका केही ठाउँमा नयाँ पुल बने पनि दुम्लिङ्ग अझै पनि ओझेलमा परेको छ।
यसैबीच प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अन्तर्राष्ट्रिय सिमा नदीमा तुइन जस्ता अवैध संरचना राख्नु सुरक्षाको हिसाबले गम्भीर विषय भएको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गर्नुभएको छ। प्रहरीले समयसमयमा तुइनका सामग्री जफत गर्ने गरेको भए पनि जोखिम भने अन्त्य हुन सकेको छैन।
हाल दुम्लिङ्गमा १०५ घरधुरीको बसोबास छ, जहाँ प्रत्येक नागरिकको यात्रा महाकाली पार गर्न तुइनमा टाँसिएको छ जसको मूल्य कतिले ज्यानले चुकाएका छन्।
