सहिद लखन गाउँपालिका—१ बक्राङकी मनिका परियारले छोरा जन्माएको ठ्याक्कै तीन महिना भयो। तर यत्तिकै समय बित्दा पनि छोराको न्वारान भएको छैन। छोरा जन्मिएपछि खुशी मनाउने उनीसँग कोही पनि साथमा छैनन्।

भागेर गरेको विवाह भएकाले माइती यसै खुसी छैनन्। ढाँट छल गरेर भित्र्याएको कारणले घर परिवारले उनलाई गाउँबाट निकालेको छ। जीवन काट्ने भनेको श्रीमान पनि गर्भ रहेको थाहा पाउने बित्तिकै फरार भए। अहिले मनिकाका दिन रोइकै बितिरहेका छन्।

जेठ १० गते गोरखा अस्पतालमा छोरा जन्माएकी मनिका केही दिन अस्पतालमा बसिन्। तर त्यसपछि जाने ठाउँ भएन। ‘घरबाट निकाले, माइती गाउँमा एकजना काकीले एउटा सानो टहरो दिनुभएको छ। त्यहीँ ओत लागेकी छु,’ उनले भनिन्। ‘बच्चाको न्वारान नभएकाले माइतीले पनि घरभित्र छिर्न दिँदैनन्। यही सानो घरमा रोएरै दिनरात बिताइरहेकी छु।’

कमाइ गर्ने कोही छैन, आम्दानी शून्य छ। आफ्नो सुत्केरी ज्यान र शिशुलाई पोषण छैन। ‘मेरो दूध आउँदैन। अलिअलि आएको दूध पनि बच्चाले खान मान्दैन। दूध किनेर खुवाउनुपर्छ, केले किन्ने?’ मनिका रुँदै भन्छिन्। ‘खान नपाएर होला, बाबु दिनरात रुन्छ। म सहन नसकेर रुन्छु। आफू त जे जस्तो गरुँला, बच्चालाई खुवाउनै गाह्रो भयो।’

साँघुरो कोठाभित्र बस्दा गर्मीले बच्चा र मनिकाको ज्यानमा असर पु¥याएको छ, तर बाटो खर्च र उपचार खर्च नहुँदा स्वास्थ्य संस्था पनि जान सकेकी छैनन्।

 

माइतीको पनि आर्थिक अवस्था नाजुक छ। ‘आमा छैनन्, बुवा केही गर्न नसक्ने बुढो हुनुहुन्छ। हामीले नै उहाँलाई हेर्नुपर्ने अवस्था छ। एउटा भाइ छ, ऊ पनि पोखरातिर ज्याला मजदुरी गर्छ,’ उनले भनिन्। ‘गाउँपालिकाले अलिअलि सहयोग गर्‍यो। छरछिमेक, इष्टमित्रले हेरे। कति मागुँ, कति दुःख दिउँ। अधिकारका लागि श्रीमान्सँग लड्ने कोही छैनन्। म कमजोर छु, काखको बच्चा बोकेर कहाँ जाउँ?’

मनिकाले २०८० मंसिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग विधिवत विवाह गरेकी थिइन्। तर केही दिनमै श्रीमानले काठमाडौंमा काम खोज्दै फरार भए। ‘घरबाट निकाले पनि हामी दुवैजना चितवनमा काम गथ्र्यौं। त्यहाँबाट पनि पोहोर वैशाखमा काठमाडौं गयौं। भदौमा पेटमा बच्चा बसिहाल्यो। त्यसपछि माइतीमा आयौं। घर खर्च जुटाउन मिलन मंसिरमा काम गर्न झापा गए। त्यसपछि अहिलेसम्म अत्तोपत्तो छैन,’ उनले सुनाइन्।

हाल न्वारान गर्ने अभिभावक नहुँदा मनिकाको अवस्था अत्यन्त दुखद छ। ‘न खानेकुरा छ, न बस्ने ठाउँ। न्वारान गर्ने मान्छे नहुँदा माइतीगाउँको हेलाँहोचो भएको जस्तो छ,’ उनले भनिन्। उनले फकाएर विवाहमा फँसाएको श्रीमानप्रति दुःख व्यक्त गरेकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय