दार्चुला भाद्र ०१ । नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने ओल्के संक्रान्ति पर्व आज मनाईएको छ । यो पर्व भदौ महिनाको एक गते सम्मानित व्याक्तिहरूलाई उपहार दिएर मनाइन्छ । डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ लाई जनाउँछ । यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर–पश्चिममा धुमधामसंग आज मनाइएको छ ।
यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप फलफूल मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका त मुख्य विशेषता नै हुन् । यो सबैखाले समाजमा पाइन्छ । त्यसैगरी उपहार लिने दिने प्रचलन पनि प्रायः सबै समाजमा विद्यमान छ । तर हाम्रो ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सीमित गरिदिँदा समकालीन सामाजिक मनोभावको ठ्याक्कै अभिव्यक्ति नहुन सक्छ । ओल्को लिनु दिनु सुदुरपिश्चमको संस्कृति, परम्परा र आस्थाको प्रतीक पनि हो । सुदूरको लोकजीवनमा वर्षाको यामलाई अती विपत्तिको एकांकी समय मानिन्छ । बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ । प्रकृतिको रुप–रंग फेरिन्छ । खोला–नाला सुसाएका हुन्छन् । हरियालीले पाखा पर्वत ढाकेको हुन्छ । कामको चटारोले कसैलाई फुर्सत हुँदैन । “साउनकी काली रात” का डरलाग्दा किस्साहरू गाउँगर्खामा सुन्न पाइन्छन् । निसन्देह यो परिवेशले कर्मयोगी लोकजीवनलाई भावविह्वल बनाएको पृष्ठभूमिमा यो पर्वको सुरुवात भएको मानिन्छ ।
आफन्तहरूलाई सम्मान स्वरुप उपहारसहित ढोग भेट गर्न जाँने चलेको रहेको छ । यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएको छ ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।
शिल्पकर्मीहरूले आजको दिनमा आ–आफ्ना सिर्जनासमेत पठाउने गरेको पाईन्छ ।
अचेल लुगा–कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दै आईरहेको छ ।
यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन् । विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । कुमाऊँ तिर यस पर्वलाई घिउ तिहार भनिन्छ । यसदिन घिउ खानै पर्ने उनीहरुको परम्परा रहेको छ ।
कुमाउको लोकमान्यतामा ओल्के सगरान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्याल ) भई जन्म लिने विश्वास रहिआएको छ ।
कतैकतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरूलाई सम्झदै देवस्थलमा बत्ती बाली नयाँ अन्नको कोसेली चढाउने गरेको पाईन्छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको पाईन्छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो पर्व मनाईदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय