दार्चुला–बैतडीको पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा आज बेलुकी आएको हावाहुरी सँगैको पानीले मकैबालीमा ठुलो क्षति भएको छ । हावाहुरीका कारण घोगा लाग्दै गरेको अवस्थामा रहेको मकैखेती पुरै नष्ट भएको त्याँहाका कृषकहरुले बताएका छन् । पुर्चौडी नगरपालिकाको वडा नम्बर ३ सल्लेवनमा हावाहुरीका कारण मकैबालीमा ठुलो क्षति भएको कृषक लोकेन्द्र धामीले जानकारी दिनुभयो । बेलुकी ४ः३० बजेतिर एक्कासी पानी सहित आएको हावाहुरीले खेतमा लगाएको मकैबालीमा व्यापक क्षति गरेको उहाँले बताउनुभयो । घोगा लाग्दै गरेको मकै सबै हावाहुरीले नष्ट पारीदिएपछि त्याँहाका किसानहरु के खाने भन्ने चिन्तामा रहेका छन् । ‘खानको लागि त के हुन्थ्यो, बिऊका लागि समेत राखेन मकैबाली सबै सखाप भयो उहाँले भन्नुभयो ।’
हावाहुरीले मकैका बोटहरु सबै भाचेर नष्ट गरेको बताइएको छ । हावाहुरीकै कारण वडा नम्बर ३ कै अन्य ठाउँहरुमा पनि मकैबालीमा क्षति पुगेकाे भएको वडाका कृषि प्राविधिक नरेश धामीले जानकारी दिनुभयो । घोगा लाग्दै गरेको मकैबालीमा ठुलो मात्रामा क्षति भएपछि नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने तयारी गरेको पुर्चौडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बिष्टले बताउनुभयो । ‘क्षतिको विवरण संकलन गर्न आज समय अभावका कारण सम्भव छैन भोली देखी विवरण संकलन गर्ने कार्य गरिन्छ त्यसका लागि कृषि प्राविधिकहरुलाई परिचालन गर्छौ, उहाँले भन्नुभयो ।’ क्षतिको एकिन विवरण संकलन गरि कृषकलाई राहत उपलब्ध गराउन कृषि ज्ञान केन्द्र बैतडीलाई पठाउने उहाँले बताउनुभयो । यता कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख घनश्याम चौधरीले नगरपालिकाबाट सिफारिस भएर आएको क्षतिको विवरण मन्त्रालय पठाइने र मन्त्रालयले कृषकहरुलाई क्षतिको आधारमा क्षतिपुर्ती (राहत) उपलब्ध गराउने बताउनुभयो ।
