काठमाडौँ — नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा भारतमाथि ऐतिहासिक जित पाएको छ । नेपालले शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतमाथि ३–२ सेटमा सनसनीपूर्ण नतिजा निकाल्यो । नेपालले महिला भलिबलमा भारतलाई पराजित गरेको यो पहिलो पटक हो । सन् २०१९ मा त्यही कभर्डहलमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्ततः ५ सेटको प्रतिस्पर्धामा पराजित भएको थियो । अहिले नेपालले त्यसको बदला लिएको छ । जितपछि कप्तान अरुणा शाही भावविह्ल बनेकी थिइन् ।
उनले भनिन्, ‘म एकदमै शून्य भएको थिएँ, भारतमाथिको जितपछि दिमागमा केही आइरहेको थिएन । भारतसँग यसअघि पहिलो पटक खेल्दा मैले डरबाट सुरु गरेको थिएँ । त्यही भएर आज भारतलाई हराउँदा एकदमै भावुक भएछु । जित्नेबित्तिकै म लडिहालें, त्यसपछि मलाई केही याद नै आएन ।’ उनले सुरुदेखि नै राम्रो खेलेकाले टिमले राम्रो नतिजा दिन सफल भएको बताइन् । त्यसपछि चीनमा गत वर्षको हाङचाउ एसियाली खेलकुदमा पनि भारतले नेपाललाई २५–२३, २६–२८, २५–२३, २५–१७ ले हराएको थियो । गत वर्ष घरेलु मैदानमा भएको काभा च्याम्पियनसिपमा पनि भारतले नेपालको चुनौतीलाई २५–१२, २६–२४, २१–२५, २५–२१ ले पन्छाएको थियो ।
तर, नेपालले शनिबार बाक्लो संख्यामा उपस्थिति दर्शकलाई उत्साहित बनाउँदै सुरुदेखि उच्च प्रर्दशन गरेको थियो । खेलमा हाबी भएको नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । भारतले दोस्रो सेटमा खासै अवसर दिएन र २५–१२ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्यो । नेपालले तेस्रो सेट पुनः २५–१७ ले आफ्नो पक्षमा ल्याएपछि खेलमा २–१ को अग्रता बनायो । भारतलाई चौथो सेट १८–२५ ले सुम्पेको नेपालले अन्तिम सेट १५–१३ ले जित्दै ऐतिहासिक नतिजा निकालेको हो । लगातार दोस्रो विजयले नेपालको नेसन्स लिगमा सेमिफाइनल स्थान लगभग निश्चितजस्तै भएको छ । बिहीबार पहिलो खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो दुई खेल जितेको भारतको यो पहिलो हार हो । तथापि भारत ७ अंकसहित शीर्षस्थानमा छ । नेपालको २ खेलमा र इरानको ३ खेलबाट ५ अंक छ । श्रीलंकाको ३ अंक छ भने माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन । राउन्ड रोबिन लिगमा सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । अर्को खेलमा इरानले माल्दिभ्सलाई २५–२१, २५–२०, २५–१६ ले पराजित गरेको थियो ।
