काठमाडौँ — एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताए । विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्मिक रूपमा देखिएको बताए ।
‘यसको (हेलिकप्टर दुर्घटना) रुट कज सर्सर्ती हेर्दाखेरी फेरि छानबिन आयोगले बताउला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएजस्तो देखिन्छ । फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो,’ उनले भने ।
दुर्घटनास्थलमा बिहीबार बिहान पुग्दा पनि त्यस्ताे देखिएको अधिकारीको भनाइ थियो । नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको पनि उनको भनाइ थियो । काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी नाइन एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो । कान्तिपुरबाट
