काठमाडौँ — भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार उनी विदेश सचिव बनेपछि छिमेकी मुलुकहरूलाई प्राथमिकता राख्दै शिष्टाचार भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्र सचिव सेवा लम्सालसँग उनको द्विपक्षीय कुराकानी हुनेछ । भारतीय विदेश सचिव मिश्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । ५९ वर्षीय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९-२०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय