धनगढी– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सकेसम्म चालु आर्थिक वर्ष भित्रै गेटामा ३ सय शय्याको अस्पताल सहित एमबिबिएस पढाइए सुरु गर्ने गरी तयारी गरिरहेको बताएका छन् ।
मंगलबार धनगढी पुगेका मन्त्री पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गेटामा ३ सय शय्याको अस्पताल तीन वर्ष नचलेको भए पनि विशिष्ट अवस्थाका कारण चिकित्सा शिक्षा आयोगले एमबिबिएस पठाउन सक्ने निर्णय गर्न सक्ने बताए ।
‘छ वटा प्रदेशमा एमबिबिएसको पढाई भइसकेको छ । यो एउटा प्रदेश मात्रै बाँकी हो । त्यसैले यो अवस्थाका कारणले ३ सय बेड ३ वर्ष नचले पनि विशिष्ट अवस्थाका कारणले गेटामा अहिले नै एमबिबिएस पढाइए गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ’ उनले भने ‘यहाँ विशिष्ट अवस्था भएका कारणले ३ सय बेडको अस्पताल ३ वर्ष चलिरहनु पर्दैन ।’ उनले चिकित्सा शिक्षा आयोगबाट निर्णय गरेर यही असारमा एमबिबिएस भर्ना गर्नु पर्छ भनेर आफू लागेको बताए ।
उनले गेटामा असार सम्म ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेर ओएनएम गरिएको बताए । उनले अहिले नै ३ सय शय्याको अस्पताल सञ्चालनको लागि ६०÷६५ करोड लाग्ने भएकाले त्यो रकम जुटाउन सक्ने अवस्था भने नभएको बताए । उनले भने ‘हाम्रो टार्गेट असार सम्म ३ सय बेडको हो । त्यो सक्दै सकिएन भने १ बेडको त जसरी पनि बनाउँन्छौ । सकेसम्म ३ सय बेडको सञ्चालन गर्छौ ।’
उनले अस्पताल सञ्चालन र एमबिबिएसको पढाइ सञ्चालन गर्दैमा विश्वविद्यालय बनाउने काम नरोकिने बताए । ‘अहिले विश्वविद्यालय बनेपछि विश्वविद्यालयले नै अस्पताल, एमबिबिएस पढाइ सुरु गरिहाल्छ भन्ने कुरा पनि सुनिन्छ’ उनले भने ‘पहिला जे हुन्छ त्यो गर्दै जाऊ, पहिला अस्पताल चलाउन मिल्छ, पहिला एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मिल्छ । त्यही चलेको अस्पताल र एमबिबिएस कार्यक्रममा विश्वविद्यालय भित्र राख्न मिल्छ ।’ उनले स्वास्थ्य मन्त्रालयबाट अस्पताल, एमबिबिएस कार्यक्रम सञ्चालन गरेर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताए ।
उनले काठमाण्डौं फर्केपछि तत्काल १०–१२ जना स्कलरसिपका डाक्टर पठाउने बताए । ‘नियमावली परिवर्तन गर्नुपर्छ भने पनि नियमावली परिवर्तन गरेर हामी डाक्टर पठाउँछौ । १५–२० जना स्कलरसिप कै नर्स पनि पठाउँन्छौ’ उनले भने ‘त्यसपछि यहाँ २४ घण्टा इमर्जेन्सी सञ्चालन गर्नुहोला ।’ उनले इमर्जेन्सी सञ्चालन भएपछि मात्रै अस्पतालमा बिरामीको चाप बढ्ने बताए ।
सरकारले नागरिकको पक्षमा काम गर्न सक्नुपर्छ
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सरकारले नागरिकका पक्षमा रहेर काम गर्नुपर्ने बताए । धनगढीमा राष्ट्रिय जनसंख्या नीति बनाउन तयार गरिएको मस्यौदामाथि छलफल कार्यक्रमको समुदघाटन गर्दै मन्त्री पौडेलले सरकारले जहिले पनि नागरिकका पक्षमा काम गर्नपर्ने बताए ।
‘नेपाली काँग्रेसले अबको निर्वाचनमा सरकारमा बस्न पाएन भनेर काम गर्न सकिएन भन्ने अवसर छैन । सरकारमा गएर शुरूवात गरेका काम देखाउनुपर्छ । हामीले परिणाममुखी काम गरेको जनतालाई महशुष गराउनु छ । लिएका नीति अनुरुप हुन नसकेका कामहरुलाई निरन्तरता दिनुपर्ने छ ।’
उनले सरकारले आर्थिक स्रोत सुनिश्चित गरेरमात्र कार्यक्रम बनाउने बताए ।
उनले भने –‘नागरिकको स्वास्थ्यका लागि राज्यले दायित्व लिनुपर्छ । सरकारले नागरिकको स्वास्थ्यमा ५० प्रतिशत पनि दायित्व लिन सकेको छैन । सेवा प्रदान गर्ने कुरामा मात्र गुणस्तर हुनुपर्छ । स्वास्थयको मापदण्ड सरकारी र नीजिमा एकै सरह बनाउनुपर्छ ।’
उनले स्वास्थ्य संस्था सैय्याका आधारमा नभई सेवामा वर्गिकरण गरिनुपर्ने बताए । उनले नागरिकले अंग सुरक्षित गर्ने चेतना जगाउन सके विरामीको संख्यामा कमी ल्याउन सकिने बताए ।
उनले सरकारले सातै प्रदेशमा क्यानसर अस्पताल सुविधा विस्तार गरिसकेको छ भने मुटुको उपचार, जलन उपचार लगायत विशिष्टकृत सेवाहरु सबै प्रदेशमा पुर्याउने गरि काम गरिरहेको बताए ।
उनले सिकलसेल प्रभावित जिल्लामा निशूल्क उपचार र अस्पतालमा छुट्टै वार्डको व्यवस्था गरि उपचार गर्ने बताए ।
