दार्चुला — दार्चुलाको तपोवन खेलमैदानमा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। महाकाली नगरपालिकाले १३ स्वर्ण, ११ रजत र ८ कास्य पदकसहित पहिलो स्थान हासिल गरेको हो। प्रतियोगितामा मार्मा गाउँपालिका ११ स्वर्ण, ११ रजत र १६ कास्य पदक जित्दै दोस्रो स्थानमा रहँदा नौगाड गाउँपालिका ६ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा सीमित भयो।
करातेतर्फ महाकाली नगरपालिका बलियो सावित भयो। विभिन्न उमेर समूहका खेलहरूमा १० स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै करातेमा वर्चस्व जमाएको महाकालीलाई समग्र उपाधि जित्न सहज भएको थियो। मार्मा गाउँपालिकाले करातेमा २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको छ भने लेकम गाउँपालिकाले २ रजत र ४ कास्य, शैल्यशिखर नगरपालिकाले १ रजत र ७ कास्य तथा मालिकार्जुन गाउँपालिकाले १ कास्य पदक हात पारेको छ।
एथलेटिक्सतर्फ भने मार्मा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ५ रजत र ८ कास्य पदक जितेर पहिलो स्थान हासिल गरेको छ। नौगाड गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्दा मालिकार्जुन गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो। शैल्यशिखर नगरपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्न सफल भयो भने अपिहिमाल गाउँपालिकाले ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्यो।
भलिबलतर्फ छात्रा समूहमा नौगाड गाउँपालिकाले उपाधि जित्न सफल भयो भने मार्मा दोस्रो स्थानमा रह्यो। महाकाली र मालिकार्जुन तृतीय स्थानमा सीमित भए। छात्र भलिबलमा भने शैल्यशिखर नगरपालिकाले प्रथम स्थान हासिल गर्दा लेकम दोस्रो भयो। मार्मा र दुहुँ गाउँपालिका संयुक्त रूपमा तृतीय भए।
कबड्डीतर्फ छात्रा समूहमा मार्मा गाउँपालिकाले उपाधि जित्यो भने महाकाली दोस्रो भयो। लेकम र दुहुँले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे। छात्र कबड्डीमा महाकाली नगरपालिकाले पहिलो स्थान प्राप्त गर्दा मार्मा दोस्रो बन्यो। व्याँस गाउँपालिका र लेकम गाउँपालिका तेस्रो स्थानमा सीमित भए।
प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो।
